२४ जेठ २०८३, आइतबार

मानवअधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न कांग्रेसको माग

जेठ १४, २०८३
काठमाडौं
मानवअधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले गत भदौ २३–२४ गतेको आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनलाई सरकारले गम्भीर रूपमा कार्यान्वयन गर्नुपर्ने माग गरेको छ । 

आयोगले प्रतिवेदन सार्वजनिक गरेको भोलिपल्ट एक विज्ञप्ति जारी गर्दै कांग्रेसले आन्दोलनका क्रममा भएको हिंसा, अत्यधिक बल प्रयोग तथा त्यसमा संलग्न व्यक्ति र निकायमाथि निष्पक्ष अनुसन्धान र कारबाहीको प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेको हो ।

बिहीबार जारी विज्ञप्तिमार्फत् कांग्रेसले विगतको सरकारले गठन गरेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अधुरो, अपूर्ण र अस्पष्ट रहेको आफ्नो पुरानो धारणा राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनले समेत पुष्टि गरेको दाबी गरेको छ ।

कांग्रेसले मानव अधिकार आयोगले स्वयं कार्की आयोगकै अध्यक्षमाथि समेत सूक्ष्म अनुसन्धान गर्नुपर्ने उल्लेख गरेको भन्दै कार्की आयोगको निष्पक्षतामाथि थप प्रश्न उठेको जनाएको छ । साथै, आम निर्वाचनअघि उक्त प्रतिवेदन सार्वजनिक नगरिनुमा नियोजित उद्देश्य रहेको आफ्नो शंकालाई पनि नयाँ प्रतिवेदनले बल पुगेको कांग्रेसको भनाइ छ ।

कांग्रेसले आन्दोलनको प्रारम्भिक चरण संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण विरोध र सुशासनको मागसँग सम्बन्धित रहेको आयोगको निष्कर्षलाई महत्त्वपूर्ण भनेको छ । तर त्यसपछि आन्दोलनमा योजनाबद्ध रूपमा हिंसात्मक घुसपैठ भएको, सरकारी तथा निजी सम्पत्तिमा आगजनी, तोडफोड, लुटपाट र हत्या जस्ता गतिविधि भएको प्रतिवेदनले देखाएको उल्लेख गरेको छ ।

विज्ञप्तिमा हिंसात्मक गतिविधिमा संलग्न भएको आशंकामा राज्यका जिम्मेवार व्यक्ति र सांसदहरूमाथि समेत थप अनुसन्धान र कारबाही गर्न आयोगले औंल्याएको उल्लेख गर्दै कांग्रेसले जुनसुकै ओहदा वा राजनीतिक पहुँच भए पनि दोषीमाथि निष्पक्ष कारबाही हुनुपर्ने धारणा राखेको छ ।

कांग्रेसले राज्य संयन्त्रको असफलता र सुरक्षा निकायबाट भएको अत्यधिक बल प्रयोगलाई पनि आयोगले मानव अधिकार उल्लंघन भनेको उल्लेख गर्दै दोषी देखिएका व्यक्तिलाई संवैधानिक तथा कानूनी दायराभित्र ल्याउन माग गरेको छ ।

कांग्रेसले सरकारलाई आधिकारिक धारणा सार्वजनिक गर्न, आयोगले किटान गरेका सांसद, व्यक्ति वा निकायमाथि विधिसम्मत कारबाही अघि बढाउन, पीडित परिवारलाई न्याय र क्षतिपूर्तिको व्यवस्था गर्न तथा निजी क्षेत्रमा भएको क्षतिको उचित व्यवस्थापन गर्न माग गरेको छ ।

त्यस्तै, सुरक्षा निकायलाई मानव अधिकारमैत्री बनाउन आवश्यक सुधार गर्नुपर्ने र गौरीबहादुर कार्की आयोगमाथि पनि तत्काल अनुसन्धान शुरू गर्नुपर्ने कांग्रेसको माग छ ।

कांग्रेसले लोकतन्त्रलाई भिडतन्त्रका रूपमा स्वीकार गर्न नसकिने स्पष्ट गर्दै अराजक हिंसा र राज्यद्वारा भएको असंयमित बल प्रयोग दुवै अस्वीकार्य रहेको जनाएको छ ।

पार्टी प्रवक्ता देवराज चालिसेद्वारा जारी विज्ञप्तिमा विधिको शासन, नागरिक स्वतन्त्रता, संस्थागत संयम र उत्तरदायी शासन व्यवस्थामै लोकतन्त्रको वास्तविक शक्ति निहित रहने उल्लेख गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्