
रासायनिक मल खरिदका लागि ३२ अर्ब ४६ करोड रूपैयाँ छुट्याइएको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले रासायनिक मल खरिदका लागि चालु आर्थिक वर्षको विनियोजन बढाएर ३२ अर्ब ४६ करोड रुपैयाँ छुट्याइएको घोषणा गरेका हुन् ।
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले रासायनिक मल आपूर्ति क्यालेन्डर निर्माण गरी मुख्य खाद्यबाली लगाउने समयमा सहज वितरणको व्यवस्था मिलाइने बताए ।
वाग्लेका अनुसार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका लागि दुई अर्ब सात करोड रुपैयाँ विनियोजन गरिएको छ।
आगामी आर्थिक वर्षभित्र किसानको पहिचान सम्पन्न गरी परिचयपत्र वितरण सुरु गरिने पनि बजेटमा उल्लेख छ।
बजेट वक्तव्यअनुसार कृषि योग्य नदी उकास लगायत उपयोगविहीन सरकारी जग्गा तथा बाँझो जमिन उपयोग गर्न स्थानीय तहमा भूमि बैंक स्थापना गरिनेछ। निजी क्षेत्रमा एग्रो पुलिङलाई पनि प्रोत्साहन गरिने सरकारको योजना छ।
त्यसैगरी सिरहा र सप्तरीमा आँप तथा सर्लाहीमा गोलभेडा प्रशोधन केन्द्र स्थापना गरिने घोषणा गरिएको छ।
कर्णाली क्षेत्रमा स्याउ, ओखरलगायत फलफूल जोन सञ्चालन तथा चिस्यान केन्द्र स्थापना कार्य अघि बढाइने अर्थमन्त्री वाग्लेले जानकारी दिए ।
उपयोग नभएको खेतीयोग्य व्यक्तिगत जमिनलाई व्यावसायिक कृषि कम्पनीको सेयरमा परिणत गरी कृषि तथा पशुपालन फर्म सञ्चालन गर्न प्रोत्साहित गरिने पनि बजेटमा उल्लेख छ।
प्राङ्गारिक मल तथा हरियो मल प्रवर्द्धन गर्न स्थानीय तहलाई सशर्त अनुदान हस्तान्तरणका लागि ३६ करोड रुपैयाँ विनियोजन गरिएको छ।