
कोशी प्रदेशका केही महत्त्वकाक्षी योजनाहरू बजेटमा समेटिएका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा पूर्वाधार, ऊर्जा, र खेलकुद क्षेत्रलाई विशेष प्राथमिकतामा राखेका छन् ।
बजेटमा कोशी करिडोर निर्माणदेखि ठूला जलविद्युत् आयोजना र खेलकुद संरचना निर्माणसम्मका महत्त्वाकांक्षी योजनाहरू समेटिएका छन् ।
यसै आर्थिक वर्षभित्र उक्त करिडोरको १५ किलोमिटर खण्ड कालोपत्रे गरिने अर्थमन्त्रीले जानकारी दिए । यस्तै, भारतसँग जोड्ने बथनाहा–विराटनगर रेलमार्ग निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । बजेट भने उल्लेख गरिएको छैन ।
कोशी प्रदेशलाई ऊर्जाको केन्द्रका रूपमा विकास गर्न सरकारले अरुण नदीमा आधारित आयोजनाहरूलाई प्राथमिकता दिएको छ ।
अर्ध–जलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनाको लागि स्रोत सुनिश्चितता गरिने बजेटमा उल्लेख छ । यसका साथै अरुण ४ जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन गरिने र निर्माणाधीन अरुण तेस्रो तथा तल्लो अरुण आयोजनाको विकासका लागि सरकारले सहजीकरण गर्ने नीति लिएको छ ।
यस्तै, झापाको मेचीनगरमा विपन्न तथा लक्षित वर्गका लागि १०० वटा आवास भवन निर्माण गरिने घोषणा गरिएको छ । विराटनगरमा २ हजार दर्शक क्षमताको इन्डोर मल्टिपर्पोज स्टेडियम निर्माण गरिने भएको छ ।