
मनाङको नासोँ गाउँपालिकामा भारत सरकारको आर्थिक सहयोगमा नयाँ अस्पताल भवनको निर्माण कार्य सुरु भएको छ ।
नासोँ गाउँपालिका वडा नम्बर ५ मा निर्माण हुन लागेको उक्त अस्पताल भवनको आज एक विशेष समारोहका बीच शिलान्यास गरिएको हो ।
काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उप-प्रमुख डा. राकेश पाण्डे र नासोँ गाउँपालिकाका अध्यक्ष धन बहादुर गुरुङले संयुक्त रूपमा भवनको शिलान्यास गरे ।
भारत सरकारको करिब ५ करोड ६० लाख (नेरु ५.६ करोड) आर्थिक सहयोगमा निर्माण हुन लागेको यो अस्पताल 'उच्च प्रभाव सामुदायिक विकास परियोजना'अन्तर्गतको हो । यस परियोजनाको कार्यान्वयन नासोँ गाउँपालिकामार्फत नै गरिने बताइएको छ ।
शिलान्यास समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष गुरुङले नेपालको विकासमा भारत सरकारले पुर्याउँदै आएको सहयोगको प्रशंसा गरे । उनले नयाँ अस्पताल भवनको निर्माण सम्पन्न भएपछि नासोँ गाउँपालिकाका स्थानीय बासिन्दाहरूलाई स्वास्थ्य सेवामा पहुँच सहज हुने र उपचारका लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास व्यक्त गरे ।
नेपाल र भारतबीचको गहिरो र बहुक्षेत्रीय सहकार्यको चर्चा गर्दै भारतीय दूतावासले यो परियोजनाले नेपाल सरकारको विकास र समृद्धिको लक्ष्यलाई थप सुदृढ बनाउने उल्लेख गरेको छ ।
भारत सरकारले नेपालका प्राथमिकताका क्षेत्रहरूमा पूर्वाधार विकासका लागि निरन्तर सहयोग गर्दै आएको र यो अस्पताल निर्माण त्यसैको एउटा कडी भएको विज्ञप्तिमा जनाइएको छ ।
नयाँ बन्ने अस्पतालले विकट हिमाली जिल्ला मनाङको स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण सुधार ल्याउने अपेक्षा गरिएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।