
फिफा पुरुष विश्वकपको १४औँ संस्करण सन् १९९० को जुन ८ देखि जुलाई ८ तारिखसम्म इटालीमा आयोजना भएको थियो । ५६ वर्षपछि विश्वकप फुटबल इटालीमा फर्किएको थियो । यसअघि, इटालीले सन् १९३४ मा दोस्रो संस्करण आयोजना गरेको थियो ।
इटालीको १२ वटा शहरको रंगशालामा खेलाइएको १४औँ संस्करणमा पनि २४ टोलीले सहभागिता जनाएका थिए । यो विश्वकपमा एसियाबाट दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (यूएई)ले भाग लिएका थिए ।
अफ्रिकाको प्रतिनिधित्व इजिप्ट र क्यामरुनले गरेका थिए । ओसेनिया क्षेत्रबाट भने कुनै पनि टोली सहभागी थिएनन् । उत्तर र मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रबाट कोस्टा रिका र अमेरिकाले भाग लिएका थिए ।
दक्षिण अमेरिकाको प्रतिनिधित्व अर्जेन्टिना, ब्राजिल, उरुग्वे र कोलम्बियाले गरेका थिए । युरोपबाट सबैभन्दा बढी १४ टोली सहभागी थिए ।
युरोपबाट अस्ट्रिया, बेल्जियम, चेकोस्लोभाकिया, इङ्ल्यान्ड, इटाली, नेदरल्यान्ड्स, आयरल्यान्ड, रोमानिया, स्कटल्यान्ड, सोभियत संघ, स्पेन, स्वीडेन, जर्मनी र युगोस्लाभिया सहभागी थिए ।
यूएई, कोस्टा रिका र आयरल्यान्डको यो पहिलो विश्वकप थियो । चेकोस्लोभाकिया, सोभियत संघ र युगोस्लाभियाको भने यो नामबाट यही नै अन्तिम विश्वकप थियो ।

फिफा विश्वकपको इतिहासमा सन् १९९० को संस्करणलाई सधैं एक विशेष ‘टर्निङ प्वाइन्ट’का रूपमा लिने गरिन्छ । यो विश्वकपले जति धेरै रोमाञ्चक पलहरू दियो, त्यति नै विवाद र नयाँ नियमहरूको सुरुआत पनि गरेको थियो ।
यसका अतिरिक्त, यो विश्वकप शीतयुद्धको अन्त्य र जर्मनीको पुनर्मिलनको संघारमा उभिएको एउटा ऐतिहासिक घटना पनि थियो ।
‘डिफेन्सिभ’ फुटबल र गोलको खडेरी
सन् १९९० को विश्वकपलाई तथ्याङ्कको दृष्टिकोणले हालसम्मकै सबैभन्दा ‘सुस्त’ र ‘रक्षात्मक’ विश्वकप मानिन्छ । प्रतियोगिता अवधिभर केवल २.२१ को औसतमा गोल भयो, जुन विश्वकप इतिहासकै सबैभन्दा न्यून हो ।

धेरै टोली गोल गर्नेभन्दा पनि गोल नखाएर पेनाल्टी सुटआउटसम्म पुग्ने दाउमा देखिन्थे । यसले दर्शकलाई धेरै हदसम्म निराश बनाएको थियो ।
परिणामस्वरूप पछि ‘ब्याक पास’को नियम नै खारेज गरियो र खेललाई आक्रामक बनाउन जितको लागि दुई अंकको सट्टा तीन अंक दिने व्यवस्था गरियो ।
रातो कार्डको वर्षा
यतिमात्र होइन, यो विश्वकप मैदानमा शारीरिक आक्रामकताका लागि पनि निकै चर्चित रह्यो । मैदानमा खेलाडीहरूबीच शारीरिक घम्सा–घम्सी सामान्यजस्तै बनेको थियो ।
प्रतियोगिताभर १६ वटा रातो कार्ड देखाइयो, जुन विश्वकपमा त्यतिबेलासम्मकै कीर्तिमान थियो । फाइनल खेलमै रातो कार्ड प्रयोग हुनुले पनि त्यतिबेलाको खेल कति आक्रामक र तनावपूर्ण थियो भन्ने पुष्टि गर्छ ।
इङ्ल्यान्डका समर्थकको उदन्डता
त्यतिबेला इङ्ल्यान्डका समर्थकहरूको ‘हलिगनिजम’ अर्थात्, उदन्डता विश्व फुटबलका लागि निकै ठूलो टाउको दु:खाइको विषय थियो ।

सन् १९८५ को हेसेल घटनाको छाया अझै बाँकी नै थियो । त्यसैले, इङ्लिस समर्थकहरूलाई मुख्य भूमिबाट टाढा राख्न उनीहरूको समूहगत चरणका सबै खेल सार्दिनियाको कालियारी शहरमा सारिएको थियो ।
इटाली सरकारले त्यहाँ प्रहरी र सैन्य बलको कडा सुरक्षा तैनाथ गरेको थियो । त्यैपनि, केही स्थानमा झडपका घटनाहरू भएका थिए । सोही कारणले प्रतियोगिता अवधिभर सुरक्षा व्यवस्था निकै चुनौतीपूर्ण बनेको थियो ।
क्यामरुनको उदय र अर्जेन्टिनालाई झट्का
यो विश्वकपको सबैभन्दा सुखद पाटो ‘अदम्य सिंह’ क्यामरुनको उदय थियो । उद्घाटन खेलमै साविक विजेता अर्जेन्टिनालाई स्तब्ध: पार्दै क्यामरुनले विश्वलाई चकित बनायो ।

३८ वर्षीय रोजर मिलाको गोल गरेपछि कलात्मक नृत्यसहित खुसियाली मनाउने शैलीले विश्वभरका दर्शकको मन जितेको थियो । वास्तवमै उनको त्यो शैली आज पनि विश्व फुटबलमा चर्चित छ ।
क्यामरुन क्वार्टरफाइनलसम्म पुग्यो, जुन अफ्रिकी फुटबलका लागि ऐतिहासिक सफलता थियो । यसले पछि फिफालाई अफ्रिकाका लागि विश्वकपमा थप स्थान सुरक्षित गर्न पनि प्रेरित गर्यो ।
जर्मनीको तेस्रो ताज र बेकेनबाउरको कीर्तिमान
फाइनल खेल रोमको स्टेडियो ओलिम्पिकोमा साविक विजेता अर्जेन्टिना र पश्चिम जर्मनीबीच भयो । त्यो खेल सन् १९८६ को फाइनलको पुनरावृत्ति थियो ।
फाइनल खेललाई जर्मनीले पूर्ण रूपमा आफ्नो नियन्त्रण राखेको थियो । खेलको अन्तिम समयमा आन्द्रेस ब्रेहमले पेनाल्टीमार्फत् गोल गर्दै जर्मनीलाई १–० को ऐतिहासिक जीत दिलाए ।

योसँगै जर्मनी तेस्रो पटक विश्व विजेता बन्यो । प्रशिक्षक फ्रान्ज बेकेनबाउर खेलाडीका रूपमा (सन् १९७४) र प्रशिक्षकका रूपमा विश्वकप जित्ने विश्वकै दोस्रो व्यक्ति भने ।
त्यसअघि, मारियो जगालोले यस्तो कीर्तिमान बनाएका थिए । अर्जेन्टिनाका लागि यो हार अत्यन्त पीडादायी रह्यो । विश्वकपको फाइनलमा गोल गर्न नसक्ने अर्जेन्टिना पहिलो टोली बन्यो ।
खेलको अन्त्यमा अर्जेन्टिनाका दुई खेलाडी पेड्रो मोनजोन र गुस्ताभो डेजोट्टी पनि रातो कार्ड खाएर बाहिरिनु परेको थियो । विश्वकपको फाइनलमा रातो कार्ड देखाइएको यो पहिलो घटना थियो ।
यो विश्वकपमा आयोजक इटाली तेस्रो भएको थियो । तेस्रो स्थानका लागि खेलाइएको खेलमा इटालीले इङ्ल्यान्डलाई २–१ गोलले पराजित गरेको थियो ।
समग्रमा, सन् १९९० को विश्वकपले फुटबललाई मनोरञ्जनमात्र नभई व्यवसायका रूपमा स्थापित गराउन पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

ब्रोडकास्टिङको सफलता, फेयर प्लेको अवधारणा र खेललाई आक्रामक बनाउन अपनाइएका नियमहरूले यो विश्वकपलाई आधुनिक फुटबलको जगका रूपमा स्थापित गराएको थियो ।
भनिन्छ, रोमको त्यो फाइनलपछि लुसियानो पाभारोटीले गाएको ‘नेसुन डोर्मा’ले विश्वभरका मानिसको मन जति छोएको थियो, त्यही अनुपातमा यो विश्वकपका घटनाक्रमहरूले विश्व फुटबलको भविष्यलाई सधैंका लागि बदलिदिएको थियो ।
गोलको खडेरीबीच उदाएका नायक ‘टोटो’
यो विश्वकप समग्रमा रक्षात्मक खेल र गोलको खडेरीका लागि चर्चित रहे पनि, केही खेलाडीको व्यक्तिगत प्रदर्शनले भने प्रतियोगितालाई जीवन्त राखेको थियो ।
खासगरी, ‘टोटो’ उपनामले चिनिने प्रभावशाली इटालियन खेलाडी साल्भाटोर सिलाचीको प्रदर्शन यो विश्वकपको सबैभन्दा ठूलो आकर्षण थियो ।
यो विश्वकपमा कूल एक सय १५ गोल भए । गोल गर्ने खेलाडीको संख्या ७५ थियो । सिलाची एक्लैले आफूलाई ‘गोल मेसिन’को रूपमा स्थापित गराउँदै कुल ६ गोल गरेका थिए ।

सर्वाधिक गोलकर्तालाई प्रदान गरिने ‘गोल्डेन बुट’ पनि उनले नै पाए । सन् १९८२ को विश्वकपमा पाओलो रोसीपछि ‘गोल्डेन बुट’ जित्ने उनी दोस्रो इटालियन खेलाडी बने ।
‘अल–स्टार टिम’ को परम्परा
सन् १९९० को इटाली विश्वकप केवल रक्षात्मक फुटबल, गोलको खडेरी र रातो कार्डका लागि मात्र होइन, एउटा लामो समयदेखि रोकिएको ‘फुटबल परम्परा’ ब्युँताउन पनि विशेष रह्यो ।
५२ वर्षपछि यो विश्वकपमा पुन: ‘अल–स्टार टिम’ अर्थात्, सर्वश्रेष्ठ खेलाडीहरूको टोली छनोट गर्ने परम्परा फेरि शुरू गरिएको थियो ।
फिफाले पहिलो पटक सन् १९३८ मा ‘अल–स्टार टिम’ सार्वजनिक गरेको थियो । तर, उक्त छनोट प्रक्रियामाथि विभिन्न गुनासा र विवादहरू आएपछि फिफाले लामो समयसम्म यस्तो टोली घोषणा गर्ने आँट गरेन ।
सन् १९९० को विश्वकपमा आएर बल्ल यो परम्पराले पुनर्जीवन पायो । प्रतियोगिताको ‘गोल्डेन बल’ छनोट गर्ने पत्रकारहरूको समूहले नै ‘अल–स्टार टिम’ घोषणा गरेको थियो । यद्यपि, फिफाको आधिकारिकताको हिसाबले भने यो टोलीलाई अझै पनि ‘अनौपचारिक’ नै मानिन्छ ।

यसपटक पनि ‘अल–स्टार टिम’को छनोट प्रक्रिया विवादमुक्त भने रहेन । धेरै फुटबल विश्लेषकले पत्रकारहरूद्वारा छनोट गरिएको यो टोलीको निष्पक्षतामाथि प्रश्न उठाएका थिए ।
त्यसैले, फिफाले यसलाई आधिकारिक मान्यता नदिए पनि, विश्वकपका उत्कृष्ट खेलाडीहरूको सूची बनाउने अभ्यासका लागि यसलाई एउटा महत्वपूर्ण शुरूआत भने मानिन्छ ।
‘अल–स्टार टोली’मा गोलरक्षकको भूमिकामा अर्जेन्टिनाका सर्जियो गोयकोचिया राखिएको थियो । टोलीमा डिएगो म्याराडोना, पाओलो माल्दिनी, योर्गेन क्लिन्सम्यान, साल्भाटोर सिलाची, ब्रान्कोलगायत प्रभावशाली खेलाडी थिए ।
१४औँ विश्वकपसँग जोडिएका केही रोचक कथा :
० शीतयुद्धको अन्तिम विश्वकप : यो विश्वकप शीतयुद्धकालीन समयको अन्तिम विश्वकप थियो ।
० एक युगको अन्त्य :यो विश्वकप राजनीतिक हिसाबले पनि विशेष थियो । यो विश्वकपमा सोभियत संघ, युगोस्लाभिया र चेकोस्लोभाकियाले अन्तिम पटक सहभागिता जनाएका थिए । यो विश्वकपलगत्तै अक्टोबरमा दुवै जर्मनीको एकीकरण भएको थियो भने त्यसपछि पूर्वी युरोपको राजनीतिक नक्सा नै बदलिन पुगेको थियो ।
० प्रविधि र मनोरञ्जनको फ्यूजन :सन् १९९० को विश्वकपले टेलिभिजन प्रसारणमा पनि कोसेढुंगा स्थापना गरेको थियो । यो पहिलो विश्वकप थियो, जुन हाइ–डेफिनिसन (एचडीटीभी) प्रविधिबाट प्रसारण गरिएको थियो । साथै, प्रतियोगितामा लुसियानो पाभारोटीसहितका ‘थ्री टेनर्स’को कन्सर्टले खेलकुद र संस्कृतिको अद्वितीय संगम प्रस्तुत गरेको थियो ।
० भएन आत्मघाती गोल :यो विश्वकपको अर्को रोचक पक्ष के हो भने, प्रतियोगिता अवधिभर कुनै पनि खेलाडीबाट ‘आत्मघाती गोल’ भएन । विश्वकपको इतिहासमा यो अनौठो घटना थियो ।
० आयरल्यान्डको कमाल : यो विश्वकपको समूहगत चरणमा एक खेल पनि नजिति आयरल्यान्ड दोस्रो चरणमा पुगेको थियो । यसरी समूहगत चरणमा एक खेल पनि नजिति अर्को चरणमा पुग्ने स्कटल्यान्ड इतिहासकै दोस्रो टोली बन्यो । यसअघि, स्वीडेनले सन् १९३८ को विश्वकपमा यस्तो उपलब्धि हासिल गरेको थियो ।

० ‘कर्नर फ्ल्याग डान्स’ :क्यामरुनका रोजर मिल्ला ३८ वर्षको उमेरमा चार गोल गरेर विश्वव्यापी सनसनी बनेका थिए । प्रत्येक गोल गरेपछि चर्चित ‘कर्नर फ्ल्याग डान्स’ गरेर उनले करोडौँ समर्थकको मन पनि जितेका थिए ।
० इटालीको पोष्टमा केवल एक गोल :आयोजक राष्ट्र इटालीले सम्पूर्ण प्रतियोगिताभरि केवल एक गोल खायो । तर, फाइनलमा पुग्न असफल भयो । इटालीले सेमिफाइनलमा अर्जेन्टिनाविरुद्ध एक गोल खाएको थियो । त्यो खेलमा इटाली पेनाल्टी सुटआउटमा पराजित भएको थियो ।
० थुक कण्डको चर्चा :प्रिक्वार्टरफाइनल चरणमा पश्चिम जर्मनी र नेदरल्यान्ड्सबीच खेल भएको थियो । खेलका क्रममा फ्रान्स रिजकार्डले रुडी भोलरलाई थुकेपछि ठुलो विवाद भएको थियो । त्यसपछि रेफ्रीले दुवै खेलाडीलाई रातो कार्ड देखाएका थिए ।
विश्वकप फुटबलबारे यसअघिका शृखला
- ५२ वर्ष लामो ‘फुटबल वनवास’को अन्त्य : कसरी बदलियो ‘अफ्रिकी लेपाडर्स’को भाग्य ?
- विवाद र रोमाञ्चकताले भरिएको १९८२ को विश्वकप- 'गिजोनको लज्जा'देखि इटालीको ऐतिहासिक उपाधिसम्म
- ११औं फिफा विश्वकप- १९७८: ‘कन्फेटी’को वर्षाले सेताम्मे रंगशाला र अर्जेन्टिनाको पहिलो उपाधि
- १० औं फिफा विश्वकप-१९७४ : जब ‘टोटल फुटबल’को जादूमाथि हाबी भयो ‘जर्मन दृढता’
- उज्बेकिस्तानको फुटबल पुनर्जागरण : विमान दुर्घटनाको शोकदेखि विश्वकपसम्म ‘सेता ब्वाँसाहरू’को उडान
- नवौं फिफा विश्वकप– १९७० : त्यो ‘स्वर्णिम युग’ जसले फूटबल ‘कला’ र ब्राजिललाई ‘अमर’ बनायो
- ‘ब्लू सार्क’को एतिहासिक यात्रा : पाँच लाख जनसंख्या भएको टापुले कसरी पूरा गर्यो असम्भव सपना ?
- आठौं विश्वकप- १९६६: फूटबलको ‘जन्मभूमि’मा जब इतिहास रचियो
- सातौं फिफा विश्वकप–१९६२ : भूकम्प, ‘सान्टियागोको युद्ध’ र ब्राजिलको ऐतिहासिक उपाधि रक्षा
- छैटौं फिफा विश्वकप– १९५८: फूटबलको स्वर्णिम अध्याय, सर्वकालीन महान खेलाडी पेलेको उदय
- पाँचौं फिफा विश्वकप–१९५४: ‘ब्याटल अफ बर्न’, हंगेरीको ‘स्वर्ण युग’ र जर्मनीको उदयबीचको टकराव
- द्वितीय विश्वयुद्धपछि पहिलोपटक फर्किएको संस्करण, जसले फुटबलको स्वरूप नै बदल्यो
- विश्वयुद्धअघिको 'वर्ल्ड कप'– घरमै फ्रान्सको नमीठो अनुभव र इटालीका खेलाडीको ज्यानको प्रसंग
- दोस्रो फिफा विश्वकप– १९३४ : एउटै खेल दुई दिनसम्म, खेलाडीका अचम्मका उपनाम
- पहिलो फिफा विश्वकपको रोचक इतिहास– युरोपेली देशसँगको हारगुहारदेखि समुद्रमा फसेका खेलाडीसम्म