
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशमशेर राणाले राप्रपा परित्याग गर्दै नयाँ अभियानको घोषणा गरेका छन् । राणाले आइतबार आह्वान जारी गर्दै नयाँ अभियान घोषणा गरिएको जानकारी दिएका हुन् ।
राप्रपालाई जनभावना अनुकूल अघि बढाउने प्रयास गर्दा विरोधाभास र सैद्धान्तिक द्विविधाबीच गलत बाटोमा हिँड्ने हिँडाउने क्रम नरोकिएको उनको दाबी छ ।
'शुभेच्छुक, सहयोद्धा तथा सहयात्रीहरूको राय सल्लाह बमोजिम देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने सदिच्छा लिएर आगामी बाटो तय गर्ने निश्चय गरेको छु। समयको पदचाप र जनभावना अनुरूप अघि बढ्न देश विदेशमा रहनु हुने नेपालीहरूको सुझाव र शुभेच्छाहरू प्राप्त भएको छ । देशलाई माया गर्ने, देशको समृद्धि चाहने आम राष्ट्रवादी मित्रहरू लगायत नवयुवा पुस्तालाई समेत यही नयाँ अभियानमा सहभागी हुन हार्दिक आह्वान गर्दछु,' डा. धवलशम्शेर राणाद्वारा विज्ञप्तिमा भनिएको छ, 'राष्ट्रिय प्रजातन्त्र पार्टीलाई विगत चार वर्ष जनभावनाअनुकूल अघि बढाउने प्रयास गर्यौ । तर, विरोधाभास र सैद्धान्तिक द्विविधाबीच गलत बाटोमा हिँड्ने हिँडाउने क्रमले राप्रपा जनताबाट दण्डित भयो । राप्रपामा आबद्ध साथीहरूलाई यही बाटो सही लाग्छ, त्यतै रहन शुभकामना छ, कुनै वैरभाव छैन । होइन, स्वच्छ मन र आत्मीय सम्बन्ध निर्माण गरेर, हाम्रा मान्यताहरूलाई सही लक्ष्य दिने चाहना हो भने, एकजुट भएर अघि बढ्न सबै राष्ट्रवादी मित्रहरूलाई हार्दिक आह्वान गर्दछु ।'