
आगामी फिफा विश्वकप फुटबलको तयारीमा रहेको पाँच पटकको च्याम्पियन ब्राजिलले सोमबार बिहान सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पानामामाथि ६–२ गोलको शानदार जित हासिल गरेको छ ।
रियो दि जेनेरियोस्थित ऐतिहासिक माराकाना स्टेडियममा सम्पन्न खेलमा ब्राजिलले प्रभावशाली प्रदर्शन गर्दै विश्वकपका लागि आफू तयार रहेको संकेत दिएको हो ।
खेल शुरू भएको पहिलो मिनेटमै ब्राजिलले अग्रता लिएको थियो । रियल मड्रिडका स्टार खेलाडी भिनिसियस जुनियरले अनुभवी मिडफिल्डर कासेमिरोसँगको समन्वयमा लामो दूरीबाट गरेको शक्तिशाली प्रहारलाई पानामाका गोलरक्षक ओर्लान्डो मोस्क्वेराले रोक्ने मौकै पाएनन् ।
यद्यपि, १३औं मिनेटमा पानामाका माइकल मुरिलोले प्रहार गरेको फ्रिकिक बल म्याथियस कुन्हालाई लागेर गोलरक्षक एलिसनलाई छक्याउँदै गोलमा परिणत भएपछि खेल बराबरीमा पुगेको थियो ।
तर, पहिलो हाफ सकिनुअघि नै ब्राजिलले पुन: अग्रता लियो । भिनिसियसको उत्कृष्ट मुभमा कासेमिरोले हेडमार्फत गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाएका थिए ।
खेलको दोस्रो हाफमा ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोटीले डिफेन्डर लिओ परेराबाहेक शुरूआती ११ का सबै खेलाडीलाई परिवर्तन गरेका थिए । दोस्रो हाफमा नयाँ खेलाडीसँगै मैदान उत्रिएको ब्राजिलले आफ्नो दबाब कायम राख्दै खेललाई एकतर्फी बनायो ।
निर्धारित समयको ५२औँ मिनेटमा गोलरक्षक मोस्क्वेराको गल्तीको फाइदा उठाउँदै युवा फरवार्ड रायनले गोल गरे । त्यसको सात मिनेटपछि लुकास पाक्वेटाले पेनाल्टी क्षेत्रको बाहिरबाट उत्कृष्ट प्रहार गर्दै टोलीका लागि चौथो गोल गरे ।
यसैगरी, ६२औँ मिनेटमा इगोर थियागोले पेनाल्टीमार्फत गोल गर्दै ब्राजिलको अग्रतालाई ५–१ को फराकिलो अग्रता दिलाए । ८०औँ मिनेटमा पाक्वेटाको पासलाई डानिलोले ब्राजिलका लागि छैटौँ गोल थपेका थिए ।
खेलको अन्त्यतिर पानामाका कार्लोस हार्भेले करिब ३० यार्ड टाढाबाट आकर्षक गोल गर्दै हारको अन्तर कम गरेका थिए । यो जितले विश्वकपको तयारीमा रहेको ब्राजिलको मनोबललाई थप बलियो बनाएको छ ।
अब ब्राजिलले आफ्नो अन्तिम मैत्रीपूर्ण खेल आगामी शनिबार अमेरिकामा इजिप्टसँग खेल्नेछ । छैटौँ पटक विश्वकप उपाधि उचाल्ने योजनामा रहेको ब्राजिल समूह ‘सी’मा छ ।