२२ जेठ २०८३, शुक्रबार

प्रथम एलएमसी कप ह्वीलचियर बास्केटबल प्रतियोगिता सम्पन्न

जेठ १८, २०८३
काठमाडौं
प्रथम एलएमसी कप ह्वीलचियर बास्केटबल प्रतियोगिता सम्पन्न

ललितपुर महानगरपालिकाको सहयोग तथा जावलाखेल ह्वीलचियर खेलकुद क्लबको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरूका लागि आयोजना गरिएको प्रथम एलएमसी कप थ्री एक्स थ्री ह्वीलचेयर बास्केटबल प्रतियोगिता तथा बोक्सिया खेल सम्पन्न भएको छ ।

प्रतियोगितामा ह्वीलचियर बास्केटबलतर्फ पुरुष समूहमा ६ टोली र महिला समूहमा ३ टोली गरी कुल ९ टोलीको सहभागिता रहेको थियो । यस्तै बोक्सिया खेलमा १२ जना खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए  ।

दुवै खेलमा गरी ५० भन्दा बढी खेलाडीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।

ह्वीलचियर बास्केटबल पुरुषतर्फ सुन्दरढोका प्रथम, सशस्त्र प्रहरी बल (एपीएफ) क्लब दोस्रो तथा आयोजक जावलाखेल ह्वीलचियर खेलकुद क्लब तेस्रो स्थान हासिल गर्न सफल भए ।

null

महिलातर्फ मेरुदण्ड पक्षघात सञ्जाल, नेपाल (नेटवर्क) प्रथम, ह्वीलचियर खेलकुद संघ (डब्लुएसए) दोस्रो तथा जावलाखेल ह्वीलचियर खेलकुद क्लब तेस्रो स्थानमा रह्यो ।

विजयी महिला तथा पुरुष टोलीहरूले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका थिए ।

त्यसैगरी बोक्सिया खेलतर्फ हरिशरण अमात्य प्रथम, अनिल महर्जन दोस्रो तथा रमेश बाराही तेस्रो हुन सफल भए । विजेता खेलाडीहरूले मेडल तथा प्रमाणपत्र प्राप्त गरेका थिए ।

समापन कार्यक्रम जावलाखेल ह्वीलचियर खेलकुद क्लबका अध्यक्ष श्री भरत बीसीको अध्यक्षतामा तथा ललितपुर महानगरपालिकाका प्रवक्ता एवं सामाजिक विकास समितिका संयोजक राजु महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा ललितपुर महानगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक महाशाखाकी प्रतिनिधि सुष्मा रेग्मी, स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठ, समाजसेवी ज्योति केसी, टेक्निकल पार्टनरका प्रमुख प्रेमसुन्दर होनालगायत अपाङ्गता भएका व्यक्तिहरूको क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा समाजसेवी व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा अतिथिहरूले विजेता खेलाडी तथा टोलीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्