
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नेपालले पनि भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् ।
प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्तिबारे प्रमाण दिनुपर्ने उनले बताए ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै सभामुखसँग समय लिएर शाहीले नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति फिर्ता हुनुपर्ने बताएका हुन् ।
‘चिया पसलमा गरिने गफ र संसद्मा बोलिने विषय फरक हुन्, सरकार प्रमुखबाट संसद्मा व्यक्त विचार संसद्को रेकर्डबाट हटाइयोस्,’ शाहीले भने ।
यसअघि आइतबार प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएका थिए ।
यो विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दै विपक्षी दलले संसद् अवरुद्ध गरेका छन् ।