
'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा लगायतका विपक्षी दलले नेपालको तर्फबाट पनि भारतीय भूमि मिचिएको भन्ने प्रधानमन्त्री वालेन्द्र शहको अभिव्यक्ति राष्ट्रघाती भएको निष्कर्ष निकालेका छन् ।
कांग्रेस संसदीय दलको कार्यालयमा सोमबार बसेको विपक्षी दलको बैठकले प्रधानमन्त्रीले क्षमाचायनासहित अभिव्यक्ति संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
००००
नेकपा (एमाले)ले प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा मागेको छ । कूटनीतिक मर्यादाको पालना गर्न र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि प्रधानमन्त्री शाहले मार्ग प्रशस्त गर्नुपर्ने एमालेको भनाइ छ ।
यतिमात्र होइन एमालेले प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै संसद् र नेपाली जनतासँग माफी माग्न माग गरेको छ ।
प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री शाहले नेपालको सीमा र राष्ट्रिय स्वाधीनतासम्बन्धी विषयमा दिएको अभिव्यक्ति राष्ट्रहितविपरीत, गैरजिम्मेवार र कूटनीतिक रूपमा अक्षम्य रहेको एमालेको भनाइ छ ।
एमाले महासचिव शंकर पोखरेलले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहले संसद्मा व्यक्त गरेको धारणा ऐतिहासिक तथ्य, प्रमाण र नेपालको स्थापित राष्ट्रिय अडानविपरीत रहेको बताएका छन् ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नेपालले पनि भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् ।
प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्तिबारे प्रमाण दिनुपर्ने उनले बताए ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै सभामुखसँग समय लिएर शाहीले नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति फिर्ता हुनुपर्ने बताएका हुन् ।
००००
प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ । प्रधानमन्त्री शाहले सार्वभौम संसद्बाट राष्ट्रहित र राष्ट्रिय स्वाधीनता विपरीतको अभिव्यक्ति दिएको भन्दै सडकदेखि सदनसम्म दबाब बढाइएको छ ।
आइतबार प्रतिनिधिसभा बैठकको प्रश्नोत्तर कार्यक्रममा सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको सीमा मिचेको’ भन्ने अभिव्यक्ति दिएका थिए । जुन अभिव्यक्तिका विषयमा अहिले व्यापक विरोध शुरू भएको छ ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत पुगेका छन् । पाँच दिने भारत भ्रमणका लागि उनी सोमबार दिउँसो भारतको नयाँ दिल्ली पुगेका हुन् ।
उनलाई दिल्ली विमानस्थलमा भारती जनता पार्टी (भाजपा)का राष्ट्रिय महासचिव अरुण सिंह तथा विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका छन् ।
००००
वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई पक्राउ परेका छन् । पर्सा र चितवनको सीमाबाट उनलाई मंगलबार बिहान पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख एसपी सुदीपराज पाठकले जानकारी दिए ।
प्रहरीले आजै उनलाई अदालत हाजिर गराउने तयारी गरेको छ । नागरिकता लिखतसम्बन्धी कसुरमा अनुसन्धानका लागि उनविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
००००
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बालेन शाह नेतृत्वको सरकारका कामकारबाहीको निगरानी तथा संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न छाया सरकार गठन गरेको छ।
कांग्रेस संसदीय दलले हरेक मन्त्रालय हेर्ने गरी सांसदहरूलाई जिम्मेवारी तोकेको हो। कांग्रेस संसदीय दलकी प्रमुख सचेतक बासना थापाले सरकारका गतिविधिको सूक्ष्म निगरानी गर्न र जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न छाया सरकार गठन गरिएको जानकारी दिइन् ।
००००
काठमाडौँको पर्यटकीय क्षेत्र ठमेलमा बसेर शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा १५ जना बंगलादेशी नागरिक पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई ठमेलको पकनाजोलस्थित एक होटलबाट पक्राउ गरेको हो।
भिजिट भिसामा नेपाल आएर भिसाको उद्देश्य विपरीत कार्य गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जेठ १५ गते उक्त होटलमा छापा मारेको थियो। अनुसन्धानका क्रममा उनीहरूले होटलको चौथो, पाँचौ र छैटौँ तल्लाका कोठाहरू भाडामा लिई संगठित रूपमा अवैध धन्दा चलाइरहेको फेला परेको कार्यालयले सोमबार जानकारी दिएको छ ।
००००
प्रधान न्यायाधीश मनोजकुमार शर्माले न्यायालयमा हुने ढिलासुस्ती, विकृति र अनियमितता अन्त्य गर्न उच्च अदालतका मुख्य न्यायाधीशहरूलाई २१ बुँदे निर्देशन दिएका छन्।
पदभार ग्रहण गरेसँगै उनले न्याय सम्पादनलाई छिटोछरितो, निष्पक्ष र प्रविधिमैत्री बनाउन सोमबार २१ बुँदे मार्गचित्र प्रस्तुत गर्दै सुधारको अभियान थाल्न निर्देशन दिएका हुन्।
००००
नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा भएको छ। गृह मन्त्रालयले सोमबारको मन्त्रीस्तरीय निर्णयअनुसार प्रहरी प्रधान कार्यालयले एसएसपीहरूको सरुवा सूची सार्वजनिक गरेको हो।
जसअनुसार जिल्ला प्रहरी परिसर काठमाडौँको जिम्मेवारी एसएसपी दिलीप घिमिरेलाई दिइएको छ भने जिल्ला प्रहरी परिसर ललितपुरमा एसएसपी तुल बहादुर कार्कीको सरुवा भएको छ।
००००
नेपाली कांग्रेसले देशभर र विदेशमा रहेका योग्य नेपाली नागरिकहरूका लागि नयाँ क्रियाशील सदस्यता खुला गरेको छ।
कांग्रेसको सोमबार बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो।
पार्टीका महामन्त्री एवं समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको उक्त बैठकले नयाँ सदस्य बन्न चाहनेहरूका लागि आवेदन प्रक्रियालाई सहज र प्रविधिमैत्री बनाउने निर्णय गरेको हो।
००००
सरकारले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाएको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागले सोमबार एक सूचना जारी गर्दै वैदेशिक रोजगारीलाई थप सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन यो नयाँ प्रणाली कार्यान्वयनमा ल्याएको जानकारी दिएको हो।
मन्त्रिपरिषद्को गत चैत १३ गतेको बैठकले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूचीको बुँदा नं २ लाई कार्यान्वयन गर्ने क्रममा यो व्यवस्था मिलाइएको विभागको भनाइ छ । मन्त्रालयको १० वटा कार्ययोजना मध्येको एक रहेको यस व्यवस्थालाई जेठ ३ गतेको मन्त्रीस्तरीय निर्णयले औपचारिक रूपमा अघि बढाएको हो।
००००
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को अध्यक्षमा करुणा कटुवाल नियुक्त भएकी छिन् ।
धनकुटाकी कटुवाललाई पार्टी सभापति गगन थापाले सोमबार नेविसंघ अध्यक्षमा नियुक्त गरेका पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
००००
नेकपा नेता एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई एक लाख धरौटीमा छाड्न विशेष अदालतले आदेश दिएको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइरालाको इजलासले सोमबार थुनछेक बहसपछि महरालाई धरौटी वा सो बराबरको बैंक जमानत लिएर तारेखमा राखी मुद्दा अघि बढाउने आदेश दिएको सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार २६ दशमलव ७२ अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलव ७२ अंकले ओरालो लागेर दुई हजार ७५५ दशमलव ३७ मा सीमित भएको हो ।