
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुस्बु ओलीले प्रधानमन्त्री वालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिले नेपालको राष्ट्रिय दाबी कमजोर पार्ने जोखिम बढाएको बताएकी छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले प्रधानमन्त्रीको अभिव्यक्ति कूटनीतिक, कानूनी र राष्ट्रिय सुरक्षाको दृष्टिले अत्यन्त गम्भीर विषय बनेको बताइन् ।
प्रधानमन्त्री व्यक्ति मात्र नभई एउटा संस्था भएकाले राजकीय संस्थाबाट आएको अभिव्यक्तिले राष्ट्रिय संकट निम्त्याउने जोखिम सिर्जना गरेको उनको भनाइ थियो ।
‘हिजोसम्म नेपालको एक इन्च भूमि पनि नछाड्ने कुरा गर्नेहरू आज आफ्नै नेताको बचाउ गर्न नेपालले भारतको भूमि मिचेको प्रमाण खोजेर हिँडिरहेका छन्’, उनले भनिन्, ‘योभन्दा दुखद् अवस्था अरू हुन सक्दैन ।’
ओलीले अन्तर्राष्ट्रिय कानूनको ‘एस्टोपेल’ सिद्धान्तअनुसार राज्यका आधिकारिक अभिव्यक्तिहरू पछि अस्वीकार गर्न कठिन हुने उल्लेख गर्दै त्यस्ता अभिव्यक्तिले राष्ट्रिय दाबी कमजोर पार्न सक्ने बताइन् ।
संवेदनशील विषयमा सार्वजनिक पदाधिकारीले अत्यन्त सावधानी, जिम्मेवारीबोध र कूटनीतिक परिपक्वतासहित भाषा प्रयोग गर्नुपर्ने उनको धारणा छ ।
प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउ गर्न खोज्ने क्रममा केही व्यक्तिहरू देशकै विरुद्ध प्रमाण खोज्न लागेको आरोप लगाउँदै उनले सीमा, सार्वभौमिकता र राष्ट्रिय स्वाभिमान बहसका विषय हुन सक्ने भए पनि नेताको बचाउका लागि राष्ट्रकै दाबी कमजोर बनाउने काम राष्ट्रवाद हुन नसक्ने बताइन् ।
सांसद ओलीले प्रधानमन्त्रीको अभिव्यक्तिको प्रभाव संसद्भित्र मात्र सीमित नरहेको पनि उल्लेख गरिन् । उक्त भनाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममार्फत विश्वभर पुगिसकेको भन्दै उनले त्यसबाट सिर्जित सन्देश सहज रूपमा सच्याउन नसकिने बताइन् ।
‘एकपटक कुनै अभिव्यक्ति अन्तर्राष्ट्रिय कूटनीतिक वृत्तमा प्रवेश गरेपछि त्यो कूटनीतिक छापका रूपमा स्थापित हुन्छ’, उनले भनिन्, ‘त्यसलाई न मेटाउन सकिन्छ, न फिर्ता लिन सकिन्छ, न त सहज रूपमा सच्याउन सकिन्छ ।’
प्रधानमन्त्रीबाट त्रुटि भएको उल्लेख गर्दै ओलीले त्यसलाई सच्याउन आवश्यक रहेको बताइन् । उनले सभामुख डोलप्रसाद अर्याललाई दलका शीर्ष नेताहरू र सांसदहरूबीच छलफलको वातावरण बनाउन आग्रह गर्दै प्रधानमन्त्रीलाई आफ्नो अभिव्यक्तिबारे स्पष्टीकरण दिन र आवश्यक परे सच्याउन अवसर दिनुपर्ने धारणा राखिन् ।