२१ जेठ २०८३, बिहीबार
राष्ट्रिय आविष्कार केन्द्रको चमत्कार

नेपाली इन्जिनियर राजु थापाले बनाए २ जना उड्न मिल्ने पारामोटर, सिन्धुलीमा सफल परीक्षण

जेठ १९, २०८३
काठमाडौं

नेपालमा स्वदेशी प्रविधिको विकासले पछिल्ला वर्षहरूमा निकै ठूलो फड्को मारिरहेको छ । यसैको पछिल्लो र शानदार उदाहरण बनेको छ- नेपालमै निर्माण भएको दुई सिटे ‘पारामोटर’ ।

महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रसँग आबद्ध इन्जिनियर राजु थापाले निर्माण गरेको यो पारामोटरले सिन्धुलीको आकाशमा सफल परीक्षण उडान गरेपछि, नेपाली नवप्रवर्तनको क्षेत्रमा नयाँ इतिहास रचिएको छ । 

सिन्धुलीको मरिन खोला आसपासको समथर जमिन । जब इन्जिनियर राजु थापाले बनाएको यो पारामोटरले स्टार्ट लियो, त्यहाँ उपस्थित सबैको ढुकढुकी बढ्यो ।

तर, केही सेकेन्डमै यसले दुई जना यात्रु बोकेर हावामा शानदार उडान भर्‍यो । करिब एक घण्टासम्म आकाशमा सुरक्षित यात्रा गरेपछि यसले सफल अवतरण गर्‍यो । यो केवल एउटा मशिनको उडान थिएन, स्वदेशमै विकसित उड्डयन प्रविधिको एउटा विशाल छलाङ थियो ।

यसका निर्माता हुन्, इन्जिनियर राजु थापा । सन् २०२० बाटै यसको डिजाइन र विकासमा जुटेका राजुले यसअघि एक जना मात्र यात्रु बोक्ने पारामोटर बनाएका थिए । त्यसैको कार्यक्षमतामा सुधार गर्दै, आज दुई जना सहजै उड्न मिल्ने परिमार्जित संस्करण तयार भएको हो ।

हेर्दा निकै साधारण लाग्ने यो पारामोटरको प्रविधि भने निकै रोचक र शक्तिशाली छ । यसको अगाडि एउटा र पछाडि दुईवटा गरी तीन पाङ्ग्रा छन् । पछाडिको भागमा एउटा शक्तिशाली पङ्खा जडान गरिएको छ ।

यसलाई उडाउन इटालीमा निर्मित ३६ हर्सपावर (३६ एचपी) क्षमताको शक्तिशाली इन्जिन प्रयोग गरिएको छ । यो ड्रोनजस्तो सिधै ठाडो रूपमा उड्दैन । एउटा सानो विमानजस्तै जमिनमा गुड्दै उडान भर्छ । तर यसको फाइदा के छ भने, उड्न वा बस्न ठूलो विमानस्थल चाहिँदैन । जम्मा १५ मिटर बराबरको समथर जमिन भए पुग्छ ।

यसमा १४ लिटर क्षमताको पेट्रोल ट्यांकी छ । इन्जिनियर थापाका अनुसार, एकपटक फुल ट्यांक गरेपछि यसले लगातार ४ देखि ५ घण्टासम्म उडान भर्न सक्छ ।

यसले प्रतिघण्टा औसत ५० किलोमिटरको गति लिन सक्छ भने मौसम अनुकूल हुँदा ३ हजार ५ सयदेखि ४ हजार फिटसम्मको उचाइमा सजिलै पुग्न सक्छ ।

आकाशको यात्रामा सबैभन्दा महत्त्वपूर्ण कुरा सुरक्षा हो । यस पारामोटरमा आकस्मिक अवस्थाका लागि विशेष ‘अटोमेटिक प्यारासुट सिस्टम’ जडान गरिएको छ । उडानका क्रममा इन्जिनमा कुनै खराबी आएमा, स्वचालित रूपमा प्यारासुट खुल्छ र यात्रुलाई सुरक्षित रूपमा जमिनमा ल्याउँछ । साथै, यात्रुका लागि हेल्मेट र सिट बेल्ट अनिवार्य गरिएको छ ।

करिब २० लाख रूपैयाँको लागतमा तयार भएको यो परियोजनामा इन्जिन, टायर र सिट जस्ता कुरा विदेशबाट ल्याइए पनि यसको मूल संरचना, फ्रेम र डिजाइन पूर्ण रूपमा नेपालमै निर्माण भएको हो ।

परीक्षण उडानको यो अपार सफलतापछि अब इन्जिनियर थापा यसलाई व्यावसायिक रूपमै अगाडि बढाउने तयारीमा छन् ।
यसका लागि उनले ‘फ्लाइङ नेपाल’ नामक कम्पनी स्थापना गरी नागरिक उड्डयन प्राधिकरण (क्यान)सँग अनुमतिका लागि कानूनी प्रक्रिया अघि बढाइसकेका छन् ।

विश्वमा पारामोटरको प्रयोग साहसिक पर्यटन, हवाई अवलोकन, फोटो तथा भिडियो सुट, पुष्पवृष्टि र सामग्री ढुवानीमा व्यापक रूपमा हुँदै आएको छ ।

नेपाल जस्तो भौगोलिक विविधता र पर्यटनको अथाह सम्भावना भएको देशमा, स्वदेशमै बनेको यो दुई सिटे पारामोटरले ‘गेम चेन्जर’को भूमिका खेल्न सक्छ । स्वदेशी सीप, लगनशीलता र निरन्तर अनुसन्धानले गर्दा आज नेपाली इन्जिनियरिङले गर्वलायक नतिजा दिएको छ । 

यदि राज्यस्तरबाट आवश्यक सहयोग र अनुमति प्रक्रियामा सहजता हुने हो भने, छिट्टै हाम्रा पर्यटकीय गन्तव्यहरूको आकाशमा नेपाली ब्रान्डकै पारामोटर उडिरहेको देख्न पाइनेछ ।

भिडियो सामग्री :

 

salt training

कमेन्ट गर्नुहोस्