
भक्तपुरको सूर्यविनायक नगरपालिका–६ सुन्दरबस्ती क्षेत्रबाट प्रहरीले दुई राउण्ड गोली तथा लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार मंगलबार साँझ प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले शंकास्पद अवस्थामा रहेका एक युवकलाई नियन्त्रणमा लिएर जाँच गर्दा उक्त सामग्री बरामद भएको हो।
पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–८ सिपाडोल निवासी २३ वर्षीय निरज खत्री रहेका छन्। प्रहरीले उनको शरीर तथा साथमा रहेको सामान खानतलासी गर्दा ७.६२ एमएम एसएलआर राइफलमा प्रयोग हुने दुई राउण्ड गोली, २३० ट्याब्लेट ट्रामाडोल, विभिन्न कम्पनीका छ थान मोबाइल, एक थान खुकुरी तथा नगद ८ सय ५० रुपैयाँ फेला पारेको जनाएको छ।
घटनासम्बन्धी थप अनुसन्धान प्रहरी वृत्त जगातीबाट भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।