
काठमाडौँको नक्साल क्षेत्रमा बसेर शंकास्पद गतिविधि गरेको आरोपमा दुई जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई मंगलबार पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा ३३ वर्षीय वाङ वेन्ड र ३२ वर्षीय चेन शुआन्गी रहेका छन्।
प्रहरीका अनुसार उनीहरू भिजिट भिसामा नेपाल आएर भिसाको उद्देश्य विपरीत कार्यमा संलग्न थिए। उनीहरूले काठमाडौँ महानगरपालिका–१, नक्सालस्थित नारायणचौरमा रहेको 'आरआर बिल्डिङ एन्ट्री टेक्नोलोजी' नामक कार्यालयबाट अवैध रूपमा 'लाइभ हब एप' सञ्चालन गरिरहेका थिए।
उक्त एपमार्फत विदेशी मोडल तथा युवतीहरूको प्रयोग गरी एकाउन्ट क्रिएट गर्ने र विदेशी तथा भारतीय नागरिकहरूलाई साथी बनाएर कुराकानी गरी पैसा माग्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि अध्यागमन विभाग, कालिकास्थान पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।