
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई भारतको ‘नेबरहुड फर्स्ट’ (छिमेकी पहिलो) नीतिअन्तर्गतको प्राथमिक साझेदार मुलुकका रूपमा पुनः उल्लेख गरेका छन् ।
बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग नयाँ दिल्लीमा भएको भेटवार्तापछि सामाजिक सञ्जालमार्फत् टिप्पणी सार्वजनिक गर्दै मोदीले आफूहरूबीच साझा समृद्धि र भविष्यका लागि नजिकबाट सहकार्य गर्ने विषयमा छलफल भएको जानकारी दिएका हुन् ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट्न पाउँदा खुसी लागेको छ’, मोदीले लेखेका छन्, ‘साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने उहाँको चाहनालाई म स्वागत गर्छु र पूर्ण रूपमा समर्थन गर्दछु ।’
मोदीले नेपाल र भारतबीचको सम्बन्धलाई विशेष तथा बहुआयामिक भन्दै त्यसलाई अझ उच्च स्तरमा पुर्याउन भारत प्रतिबद्ध रहेको बताएका छन् ।
‘नेपाल हाम्रो ‘नेबरहुड फर्स्ट’ नीतिअन्तर्गतको प्राथमिक साझेदार हो’, उनले भनेका छन्, ‘नयाँ सरकारसँग सहकार्य गर्दै दुई देशबीचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउन हामी उत्सुक छौं ।’
मोदी र लामिछानेबीचको भेटलाई नेपाल–भारत सम्बन्ध तथा अन्तरपार्टी संवादका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ ।
रवि नेतृत्वको रास्वपाको प्रतिनिधिमण्डलले भारत भ्रमणका क्रममा भारतीय जनता पार्टीका शीर्ष नेतृत्व, विदेशमन्त्री डा. एस. जयशंकर, गृहमन्त्री अमित शाहलगायत विभिन्न राजनीतिक तथा सरकारी अधिकारीहरूसँग भेटघाट गरिरहेको छ ।