
विदेशबाट फर्किँदा अब एक थान अतिरिक्त मोबाइल फोन ल्याउँदा भन्सार नलाग्ने भएको छ ।
नेपालबाट बाहिर जाने र बाहिरी मुलुकबाट नेपाल आउने यात्रुले ल्याउन र लैजान पाउने सामानका लागि अर्थ मन्त्रालयले नयाँ व्यवस्था लागू गरेको हो ।
यात्रुले आफ्नो साथमा ल्याउने र लैजाने वस्तुसम्बन्धी सूचना राजपत्रमा प्रकाशित भएको हो । सोहीअनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका नागरिकले आफ्नो साथमा थप एक थान नयाँ सेलुलर मोबाइल फोन ल्याएमा सो बापत लाग्ने महसुल पूरै छुट हुनेछ ।
अन्य के-केमा महसुल छुट पाइन्छ ?
विदेशबाट फर्केका नेपाली यात्रुले व्यक्तिगत प्रयोगका लागि आफ्नो साथमा ल्याएको प्रयोग गरेको लुगाफाटा, बरबिछ्यौना, घर गृहस्थीका पुराना वस्तु, औषधि उपचार गराई फर्केका बिरामीले ल्याएका औषधि, शारीरिक रूपमा अशक्त यात्रुले सहाराको रूपमा प्रयोग गरेका वस्तुमा महसुल छुट हुनेछ ।
यसका साथै भन्सार महसुल ऐन, २०८१ अनुसूची– ४ को प्रकरण (१) मा तोकिएको परिमाणसम्म सुन तथा सुनका गहना र चाँदी तथा चाँदीका गहना ल्याउन महसुल लाग्ने छैन ।
त्यस्तै, आफूले प्रयोग गरेको ट्याबलेट, ल्यापटप वा डेस्कटप कम्प्युटर, घडी, क्यामरा, भिडियो क्यामरा र सेलुलर, मोबाइल फोन एक/एक थानका लागि महसुल लाग्ने छैन ।
स्वदेश फर्केका नेपाली नागरिकले ल्याएको ६५ इञ्चसम्मको टेलिभिजन एक थान, तर यस खण्ड बमोजिमको सुविधा अभिलेख रहने गरी एक पटकको लागि मात्र दिइनेछ ।
बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक/एक थान, पेशागत यात्रुले प्रयोग गरी ल्याएको आफ्नो पेशासँग सम्बन्धित वस्तुहरू एक एक थान (जस्तैः डाक्टरका लागि ब्लड प्रेसर नाप्ने यन्त्र, स्टेथेस्कोप, खेलाडीको लागि फुटबल, भलिबल, ब्याडमिन्टन सेट, क्रिकेट सेट, गायक तथा सङ्गीतकारको लागि गितार, हार्मोनियम, तबला जस्ता वस्तु), सात किलोग्रामसम्म खाद्य परिकार ल्याउँदा महसुल लाग्ने छैन ।
त्यसैगरी, मदिरा एक लिटरसम्मको बोतल एक, तर, श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई लगातार कम्तीमा छ महिना काम गरी फर्केका नेपाली नागरिकले आफैं उपस्थित भई भन्सार जाँचपास गराउने गरी आफू आउनु भन्दा अघि वा पछि हुलाक पुलिन्दा, कार्गो वा अन्य माध्यमबाट पठाउन सक्ने छन् ।
यस्तो वस्तुमा महसुल पूर्ण छुट हुनेछ ।