
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपालमा समृद्धिको ढोका खोल्ने उद्देश्यसहित आफूले भारतको भ्रमण गरेको बताएका छन् ।
नयाँ दिल्लीमा बिहीबार प्रवासी नेपालीहरूलाई सम्बोधन गर्दै लामिछानेले आफ्नो भ्रमण नेपालको समृद्धिको यात्राका लागि भएको बताएका हुन् ।
‘भारतमा हामीलाई सम्मान प्राप्त भएको छ, यो सम्मान तपाईंहरूलाई बाँड्न चाहन्छु । अब सम्मानित भएर हुँदैन समृद्धिको ढोका खोल्ने हो’, भारतमा बस्ने नेपालीलाई सम्बोधन गर्दै लामिछानेले भने, ‘नयाँ दिल्लीमा राजनीतिक ढोका खोल्न धेरै मानिस आए यसपटक म समृद्धिको ढोका खोल्न नयाँ दिल्ली आएको हुँ ।’
लामिछानेले नेपालीले देखेको समृद्धिको सपना अब पूरा हुने बताए । ‘समृद्ध नेपालको एउटा सपना जुन हामीले युगदेखि देख्दै आएको हो, त्यसमा सहकार्य गर्ने एजेन्डा बोकेर आएको हुँ । मेरो भ्रमण नेपाल र नेपालीको उन्नतीमा केन्द्रित छ’, उनले भने ।
५ दिने भ्रमणमा दिल्ली गएका लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भापजा अध्यक्ष नितिन नवीन लगायतलाई भेटेका थिए ।
‘पछिल्लो १२ वर्षमा भारतले विकास र समृद्धिको खुड्किलो पार गर्यो, हामी छेउमै बसेर हेरिमात्रै रह्यौं’, लामिछानेले भने, ‘समृद्धिको यात्रामा सँगसँगै हिँड्न स-साना कुरालाई मिलाउँदै सल्लाह गर्दै संवाद गर्दै जाने कुरा भएको छ ।’
लामिछाने शुक्रबार स्वदेश फर्किँदैछन् ।