
करिब ३०० ग्राम खैरो हेरोइनसहित १० जना पक्राउ परेका छन् ।
लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई यही जेठ २० गतेदेखि २२ गतेको समयावधिमा पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौंका ३० वर्षीय आयुष श्रेष्ठ, बाराका २३ वर्षीय निराजन कुमार, काठमाडौंका ३७ वर्षीय सुरेश शाही खड्गी, रौतहटकी सेजल जैसवाल र दोलखाका सागर शिवाकोटी छन् ।
यसैगरी, बाराका २४ वर्षीय कैमुलाह खान, भक्तपुरका ३५ को भगवान थापा मगर, सिरहाका २० वर्षीय चेतनारायण ठाकुर, काठमाडौंका ४० वर्षीय सनि श्रेष्ठ र काठमाडौंकी ३५ वर्षीया किभा श्रेष्ठ छन् ।
पक्राउ परेकाहरूविरुद्ध लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।