२४ असार २०८३, बुधबार

निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि एमालेले सुझाव संकलन गर्ने

जेठ २६, २०८३
काठमाडौं
निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि एमालेले सुझाव संकलन गर्ने

नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले प्रदेश, जनसंगठन र विभिन्न निकायबाट सुझाव संकलन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदलको मंगलबार बसेको पहिलो बैठकपछि प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले आगामी दिनमा विभिन्न तहका पार्टी नेतृत्वसँग छलफल र भेला आयोजना गरी सुझाव संकलन गरिने जानकारी दिए ।

उनका अनुसार जेठ ३० गते बागमती प्रदेशबाट सुझाव संकलन कार्यक्रम शुरू हुनेछ ।

त्यसपछि असार २ गते कोशी, असार ४ गते लुम्बिनी, असार ६ गते सुदूरपश्चिम, असार ८ गते कर्णाली, असार ११ गते गण्डकी र असार १३ गते मधेश प्रदेशमा भेला आयोजना गरिनेछ ।

त्यसैगरी, असार १६ गते राजधानी विशेष भेला, असार १७ गते सम्पर्क समन्वय कमिटी, असार १८ गते जनसंगठन तथा असार १९ गते विभाग प्रमुख र विभिन्न निकायका पदाधिकारीसँग छलफल गर्ने कार्यतालिका तय गरिएको छ ।

प्रदेशस्तरीय भेलामा सम्बन्धित भूगोलका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा जिल्ला पदाधिकारीहरूको सहभागिता रहने जनाइएको छ । सम्पूर्ण कार्यक्रमको संयोजन सम्बन्धित प्रदेशका इन्चार्जहरूले गर्नेछन् ।

बैठकले कार्यदलको सदस्य सचिवको जिम्मेवारी महासचिवलाई दिने निर्णय पनि गरेको छ । साथै, आयोजना हुने सबै भेलामा कार्यदलका संयोजक, महासचिव र सदस्यहरूको अनिवार्य उपस्थिति रहने प्रचार विभाग प्रमुख आचार्यले जानकारी दिए ।

एमालेले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्दै पार्टी संगठनलाई थप सुदृढ बनाउने उद्देश्यले कार्यदल गठन गरेको हो । सुझाव संकलन अभियानबाट प्राप्त निष्कर्षका आधारमा पार्टी पुनर्गठन तथा भावी रणनीति तय गरिने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्