
काठमाडौँ जिल्ला अदालतको लेटरप्याड, न्यायाधीशको दस्तखत किर्ते गरी मुद्दा खोल्ने र पुनः प्रमाणीकरणसम्बन्धी सूचना नै नक्कली बनाएको भेटिएपछि एक व्यक्ति प्रहरीको फन्दामा परेका छन् ।
गोरखाको आरुघाट गाउँपालिका–७ घर भई हाल काठमाडौँको टोखा बस्ने २६ वर्षीय विवस अधिकारीले यसरी किर्ते गरेको अदालतबाट प्राप्त सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले पक्राउ गरेको हो ।
सिआइबीका सहप्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्र खड्काले विवस अधिकारीले २०८२ चैत १५ गते अदालतको लेटरप्याड र अधिकारीहरूको दस्तखत किर्ते गरी मुद्दा खोल्ने तथा पुनःप्रमाणीकरणसम्बन्धी सूचना तयार पारेको बताए । साथै मुद्दाको अन्तिम निर्णयपछि विवस अधिकारीको बैंक खातामा रु दुई करोड १३ लाख रकमान्तरण हुने विवरणसमेत तयार गरी किर्ते गरेको पाइएको उनले बताए ।
उनका अनुसार सोही वर्ष चैत २४ गते सेवा शुल्क भुक्तानीसम्बन्धी झुठ्ठा लिखत तयार गरी विवस अधिकारीलाई अदालतबाट रु एक लाख छ हजार सेवा शुल्क बुझाउन आदेश दिएको भनी अदालतबाट सामान्यतया जारी नहुने प्रकृतिको व्यहोरा उल्लेख गरेर कागजात तयार पारेको पाइएको छ ।
यसरी कागजात तयार पार्न काठमाडौँ जिल्ला अदालतको लेटरप्याड कीर्ते बनाइ न्यायाधीश, श्रेस्तेदार, शाखा अधिकृतको दस्तखत र अदालतको छापसमेत कीर्ते गरी प्रयोगमा ल्याएको पाइएको छ ।
उक्त कसुरमा संलग्न विवस अधिकारीलाई छानबिन गरी कानुनबमोजिम कारबाही गरिपाऊँ भन्ने व्यहोराको अदालतका कर्मचारीको निवेदनका आधारमा उनलाई काठमाडौँको सतुङ्गलबाट पक्राउ गरिएको सहप्रवक्ता खड्काले बताए ।
अनुसन्धानका क्रममा उनको डेरा कोठामा खानतलासी गर्दा कीर्ते कागजपत्रहरू फेला परेकाले आज काठमाडौँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।