३१ जेठ २०८३, आइतबार

काभ्रे बस दुर्घटना : मृतक सबैको सनाखत, छानबिन गर्न समिति गठन​

जेठ ३०, २०८३
काठमाडौं
काभ्रे बस दुर्घटना : मृतक सबैको सनाखत, छानबिन गर्न समिति गठन​
फाइल फोटो

बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरस्थित बुच्चाकोटमा शुक्रबार भएको बस दुर्घटनामा मृत्यु भएका आठै जनाको पहिचान खुलेको छ ।​ 

रोशी गाउँपालिका-६ का ७३ वर्षीय मेघबहादुर तामाङ, सोही स्थानका ५५ वर्षीय राजु तामाङ र ७५ वर्षीय इन्द्रबहादुर तामाङ, रोशी-७ की ३४ वर्षीया फूलमाया तामाङ, सोही स्थानकी ६० वर्षीया माया तामाङ, रोशी-८ की ६० वर्षीया प्यारीमाया तामाङ, दैलेख घर भई त्रिनेत्र दल गण भकुण्डेवेँशीमा कार्यरत नेपाली सेनाका ३० वर्षीय अमलदार बमबहादुर भण्डारी र सिन्धुलीको घ्याङ्लेक गाउँपालिका-४ निवासी २२ वर्षीय सुमी तामाङको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परी घाइते भएका १६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

बनेपाबाट रोशी गाउँपालिकातर्फ जाँदै गरेको बस नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटस्थित सेल्फीडाँडाबाट तल खसेको थियो ।

दुर्घटनास्थलबाट आठै जनाको शव निकालिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।

उनका अनुसार दुर्घटनाबारे अनुसन्धान तथा मृतकका आफन्तलाई सम्पर्क गरी आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको छ । 

छानबिन समिति गठन​

बुच्चाकोटमा शुक्रबार भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरिएको छ ।

नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेका प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा शनिबार ६ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

बनेपाबाट रोशी खार्पाचोकतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा बसमा सवार ८ जना यात्रुको घटनास्थलमै मृत्यु भएको थियो ।

साथै, दुर्घटनामा घाइते भएका अन्य १६ जना यात्रुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

समितिले घटनाको वास्तविक अवस्था, कारण तथा जिम्मेवार पक्ष पहिचान गरी सत्य-तथ्य छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्