२३ असार २०८३, मंगलबार

भारत महत्वपूर्ण क्षेत्रीय साझेदार : बङ्गलादेश

जेठ ३०, २०८३
काठमाडौं
भारत महत्वपूर्ण क्षेत्रीय साझेदार : बङ्गलादेश

बङ्गलादेशको नवनिर्वाचित सरकारले भारत महत्वपूर्ण क्षेत्रीय साझेदार रहेको भन्दै आपसी सम्मान, साझा आर्थिक लाभ र जनस्तरको सम्बन्धका आधारमा सहकार्यलाई बलियो बनाउने बताएको छ ।

प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार हुमायुन कबिरले भारतसँग रचनात्मक सहकार्यको महत्वमा जोड दिँदै शनिबार भने, “छिमेकी देशहरूले आपसी सम्मान, साझा आर्थिक लाभ र जनस्तरको सम्बन्धका आधारमा सहकार्यलाई बलियो बनाउन मिलेर काम गर्नुपर्छ ।”

भारतसँगको बङ्गलादेशको सम्बन्धबारे एएनआईसँग कुरा गर्दै कबिरले भूगोलको वास्तविकता र क्षेत्रीय सहयोगको आवश्यकतालाई जोड दिए ।

उनले भने, “यस क्षेत्रभित्र सामान्य कुटनीतिक सम्बन्ध हुनु राम्रो हो । भारत हाम्रो छिमेकी हो, विगत केही वर्ष उनीहरूले हामीलाई छानेनन्, हामीले पनि उनीहरूलाई छानेनौँ । तर हामी छिमेकी हौँ । हामी सँगै बस्नुपर्छ, हामीले यस क्षेत्रमा सँगै काम गर्नुपर्छ र सहकार्य गर्नुपर्छ ।”

उनले भने, “यदि दुवै देशका नेतृत्वमा यो मानसिकता भएमा हामी वास्तवमै दुई असल छिमेकी बन्न सक्छौँ । हामी सँगै काम गर्न सक्छौँ । हामी व्यापार र लगानी खोल्न र विस्तार गर्न सक्छौँ ।”

कबिरले बङ्गलादेश र भारतबीच व्यापार र सम्पर्कका विभिन्न क्षेत्रमा साझेदारी हासिल गर्नुपर्ने महत्वमाथि जोड दिए ।

उनले भने, “अर्थव्यवस्थाको फाइदाका लागि निष्पक्ष व्यवस्था आवश्यक छ र साझेदारी हुनुपर्छ । कनेक्टिभिटीको क्षेत्रमा पनि यही कुरा लागू हुन्छ । बजारमा पहुँच धेरै महत्त्वपूर्ण छ । यो फाइदा लिन म कुनै समस्या देख्दिनँ ।”

“साझेदारी एकअर्काको सार्वभौमिकताप्रतिको पारस्परिक सम्मानमा निर्माण हुनुपर्छ र यो वास्तवमै दुवै पक्षका लागि सबै हिसाबले लाभदायक हुनुपर्छ,” बङ्गलादेशका प्रधानमन्त्रीका सल्लाहकार कबिरले भने । उनले भारतसँग अन्तरसम्बन्ध बढाउनुपर्ने कुरामा पनि जोड दिए ।

उनले भने, “यदि कनेक्टिभिटीले बङ्गलादेशका जनतालाई फाइदा पुर्‍याउँछ र हामीले भारतभित्र बजार पहुँच प्राप्त गर्छौँ भने त्यसमा म कुनै समस्या देख्दिनँ ।”

उनले भने, “विगत १५ वर्षमा बङ्गलादेशमा लोकतान्त्रिक सरकार थिएन र बङ्गलादेश तथा भारतका जनताबीच कुनै सम्बन्ध पनि थिएन । सम्बन्धको केन्द्र शेख हसिना मात्र थिइन् । अहिले हामीले भारतबाट सङ्केत पाइरहेका छौँ कि भारत र बङ्गलादेशका जनताबीचको सम्बन्ध फराकिलो हुँदै गएको छ ।”

सल्लाहकार कबिरले दुवै देशका विभिन्न तहका जनताबीच आदान–प्रदान र अन्तरक्रियाको महत्त्व उल्लेख गर्दै दुवै देशका जनताबीच विश्वास निर्माण गर्नु सबैभन्दा महत्त्वपूर्ण पक्ष भएको बताए ।

उनले भने, “दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउन प्राज्ञिक, सांस्कृतिक अभियन्ता, राजनीतिज्ञ, व्यवसायी र जनस्तरमा अन्तरक्रिया बढाउनुपर्छ ।”

उनले भने, “हामीलाई सुरक्षामा पनि सहकार्य चाहिन्छ, तर सुरक्षा सहयोग केही हदसम्म विश्वासमा निर्भर हुन्छ । त्यसैले हामी दुवै देशका जनताबीच विश्वास बढाउन आह्वान गरिरहेका छौँ ताकि सुरक्षा सहयोग स्वाभाविक रूपमा बढ्न सकोस् ।”

उनले भने, “हामी यो गर्न सक्षम हुनेछौँ । चुनौतीलाई सम्बोधन गरेर अघि बढ्नेछौँ ।”

कबिरले निकट भविष्यमा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले भारत भ्रमण गर्ने सङ्केतसमेत गरे ।

उनले भने, “भारत हाम्रो महत्वपूर्ण क्षेत्रीय साझेदार हो । प्रधानमन्त्रीको अनुकूलतामा कुनै बिन्दुमा भ्रमण हुनेछ ।”

salt training

कमेन्ट गर्नुहोस्