
काठमाडौं महानगरपालिकाले अगामी आर्थिक वर्ष २०८३/८४ का लागि कार्यक्रम तथा बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक प्रस्तुत गरेको छ ।
महानगरपालिकाको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रूपैयाँ सञ्चित कोषमा व्ययभार पर्ने र ७५ करोड रूपैयाँ अन्य बाह्य व्ययभार हुने गरी कूल २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रूपैयाँको अनुमानित बजेट पेस भएको छ ।
महानगरको आर्थिक वर्ष २०८३–०८४ को बजेट सार्वजनिक गर्दै कार्यवाहक मेयर सुनिता डंगोलले यस्तो उल्लेख गरेकी हुन् ।
‘आगामी आर्थिक वर्षका लागि सञ्चित कोषमा २५ अर्ब १३ करोड ३० लाख ५५ हजार रूपैयाँ जम्मा हुने अनुमान गरिएको छ,’ कार्यवाहक मेयर डंगोलले भनिन्, ‘जसमध्ये काठमाडौं महानगरपालिकाको आन्तरिक आय र बैंक मौज्दात गरी कूल २० अर्ब १८ करोड ६३ लाख २९ हजार रूपैयाँको स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ भने नेपाल सरकार तथा प्रदेश सरकारबाट शसर्त, समानीकरण, राजश्व बाँडफाँडबाट प्राप्त हुने अनुदान ४ अर्ब ९३ करोड ६७ लाख २६ हजार रूपैयाँको स्रोत अनुमान गरिएको छ । त्यसैगरी जनसहभागिताबापत १ करोडको स्रोत प्राप्त हुने अनुमान गरिएको छ ।’
उनले क्षेत्रगत रूपमा हेर्दा प्रस्तुत बजेट तथा कार्यक्रम अन्तर्गत आर्थिक विकास क्षेत्रमा कूल बजेटको २.१ प्रतिशत अर्थात् ५४ करोड १८ लाख २० हजार रूपैयाँ प्रस्ताव गरिएको बताइन् । सामाजिक विकास क्षेत्रमा ९.६ प्रतिशत अर्थात् २ अर्ब ४२ करोड २७ लाख ३१ हजार रूपैयाँ प्रस्ताव गरिएको छ । पूर्वाधार विकास क्षेत्रतर्फ ६१ प्रतिशत अर्थात् १५ अर्ब ३१ करोड ६७ लाख ४८ हजार रूपैयाँ रहेको छ ।
सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ८.५ प्रतिशत अर्थात् २ अर्ब १३ करोड ४७ लाख ९२ हजार प्रस्ताव गरिएको छ । त्यसैगरी, कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ १८.८ प्रतिशत अर्थात् ४ अर्ब ७१ करोड ६९ लाख ६४ हजार रूपैयाँ प्रस्ताव गरिएको छ ।
चालु आर्थिक वर्ष २०८२–८३ का लागि महानगरले २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रूपैयाँको बजेट पारित गरेको थियो ।