
चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका क्रममा सांसद रमेश प्रसाईं र यज्ञमणि न्यौपानेले सहमहामन्त्री पदमा उम्मेदवारी दिने बताएका छन् ।
महाधिवेशनस्थलस्थित मिडिया सेन्टरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै दुवैले पहिलो चरणमा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गर्ने र त्यसपछि सहमहामन्त्री पदका लागि प्रतिस्पर्धा गर्ने बताएका हुन् ।
उनीहरूका अनुसार महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले पदाधिकारी तहमा दाबी गर्न सुझाव दिएपछि उम्मेदवारीको तयारी गरिएको हो ।
यज्ञमणि न्यौपानेले यसअघि महामन्त्री पदमा दाबी गर्ने सोच बनाए पनि पार्टी नेतृत्व तथा महाधिवेशन प्रतिनिधिहरूको सुझावपछि सहमहामन्त्रीमा उम्मेदवारी दिने निर्णय गरेको बताए ।
उनले निर्वाचनको परिणाम जे आए पनि सहज रूपमा स्वीकार गर्ने उल्लेख गर्दै जित वा हारभन्दा पनि पार्टीलाई बलियो बनाउने उद्देश्यले प्रतिस्पर्धामा उत्रिन लागेको बताए ।
त्यस्तै, प्रसाईंले आफू संगठनमा प्रभावकारी ढंगले काम गर्न सक्षम रहेको दाबी गर्दै नेतृत्वकै सल्लाह र कार्यकर्ताको विश्वासका आधारमा सहमहामन्त्री पदमा उम्मेदवारी दिन लागेको बताए ।
रास्वपाको प्रथम महाधिवेशनमा नेतृत्व चयनका लागि आकांक्षीहरूको संख्या बढ्दै जाँदा विभिन्न पदमा प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ ।