११ असार २०८३, बिहीबार

गर्मीका कारण वीरगञ्जका विद्यालय चार दिन बन्द

असार ११, २०८३
पर्सा
गर्मीका कारण वीरगञ्जका विद्यालय चार दिन बन्द

अत्यधिक गर्मी र लूको प्रभाव बढेपछि वीरगञ्ज महानगरपालिकाले महानगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिनका लागि बिदा घोषणा गरेको छ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले जारी गरेको सूचनाअनुसार असार ११ गतेदेखि लागू हुने गरी बाल विकासदेखि कक्षा १२ सम्मका सबै विद्यालय चार दिन बन्द रहनेछन्। उक्त बिदा वर्षे बिदाबाट कट्टा गरिने जनाइएको छ।

महानगरपालिकाले बढ्दो तापक्रमका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले यो निर्णय गरिएको जनाएको छ। पछिल्ला दिनमा तराई–मधेसका जिल्लामा तापक्रम निरन्तर बढ्दै जाँदा जनजीवन प्रभावित बनेको छ।

यसैबीच, मुस्लिम समुदायको दाहा (मोहरम/ताजिया) पर्वलाई शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सर्वपक्षीय समन्वयात्मक बैठक सम्पन्न भएको छ।

बैठकले पर्वका अवसरमा निकालिने र्‍याली तथा शोभायात्रा प्रशासनले तोकेको रुट, मिति र समयअनुसार सञ्चालन गर्नुपर्ने, हातहतियार तथा उच्च ध्वनियुक्त उपकरण प्रयोग गर्न नपाइनेलगायत नौबुँदे आचारसंहिता जारी गरेको छ।

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सामाजिक सञ्जालमार्फत भ्रम, वैमनस्यता वा उत्तेजना फैलाउने सामग्री प्रचारप्रसार नगर्न पनि आग्रह गरिएको छ। मोहरम पर्वका लागि मुस्लिम समुदायका तर्फबाट महबुब अली (शेरु आलम) र हिन्दू समुदायका तर्फबाट रञ्जीत शाहलाई सुरक्षा निकायसँग समन्वय गर्ने जिम्मेवारी तोकिएको छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले आधिकारिक पत्र प्राप्त भएपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर मोहरम पर्वको अन्तिम रुट र सुरक्षा योजना तय गरिने जानकारी दिएका छन्।

salt training

कमेन्ट गर्नुहोस्