
ओस्मान डेम्बेलेको सानदार ह्याट्रिकको मद्दतले फ्रान्सले विश्वकप फुटबल अन्तर्गत समूह 'आई' को अन्तिम खेलमा नर्वेलाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको छ।
गएराति बोस्टन स्टेडियममा भएको जितसँगै फ्रान्स समूह विजेता बन्दै अन्तिम ३२ मा प्रवेश गरेको छ भने हारका बाबजुद नर्वे उपविजेताको रूपमा अर्को चरणमा पुगेको छ।
खेल सुरु हुनुअघि विश्वका दुई उत्कृष्ट स्ट्राइकरहरू अर्लिङ हालान्ड र केलियन एमबाप्पेबीचको भिडन्त हेर्न प्रतिक्षारत दर्शकहरू नर्वेको टोली घोषणापछि केही निराश बनेका थिए।
नर्वेका प्रशिक्षक स्टाले सोल्बाकेनले टोलीमा १० वटा परिवर्तन गर्दै स्टार स्ट्राइकर हालान्डलाई बेन्चमा राख्ने निर्णय गरेपछि खेलको सम्पूर्ण ध्यान फ्रान्सेली विङ्गर ओस्मान डेम्बेलेतर्फ मोडियो।
डेम्बेलेले खेलको सातौँ मिनेटमा एमबाप्पेको पासलाई सदुपयोग गर्दै फ्रान्सलाई अग्रता दिलाए। २० औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए। नर्वेले लगत्तै २१ औँ मिनेटमा थेलो आसगार्डको गोलमार्फत पुनरागमनको संकेत दिए पनि ३२औँ मिनेटमा डेम्बेलेले आफ्नो ह्याट्रिक पूरा गर्दै फ्रान्सलाई ३-१ को स्थितिमा पुर्याए।
यो पुरुष विश्वकप इतिहासकै दोस्रो सबैभन्दा छिटो ह्याट्रिक हो, जुन उनले खेल सुरु भएको ३२ मिनेटभित्रै पुरा गरे।
दोस्रो हाफमा नर्वेले खेलमा फर्कने सुवर्ण अवसर पाएको थियो। तर, जोर्गेन स्ट्रान्ड लार्सनको पेनाल्टीलाई फ्रान्सेली गोलकिपर माइक मेग्नानले बचाउ गरे। मेग्नान सन् १९८६ पछि विश्वकपमा पेनाल्टी बचाउने पहिलो फ्रान्सेली गोलकिपर बनेका छन्। खेलको इन्जुरी समयमा डिजायर डोउले हेडरमार्फत गोल गर्दै फ्रान्सको ४-१ को जित सुनिश्चित गरे।
फ्रान्सका प्रशिक्षक डिडिएर डेस्च्याम्प्स घरायसी शोकका कारण टोलीमा अनुपस्थित रहेकाले सहायक प्रशिक्षक गुय स्टेफनले टोलीको कमान सम्हालेका थिए। खेलपछि प्रतिक्रिया दिँदै स्टेफनले डेम्बेलेको प्रदर्शनको प्रशंसा गर्दै उनले आलोचनाको जवाफ मैदानबाटै दिएको बताए।
अब नकआउट चरणमा फ्रान्सले जुन ३० मा न्यु जर्सीमा तेस्रो स्थानमा रहने टोलीसँग प्रतिस्पर्धा गर्नेछ। नर्वेले सोही दिन डलासमा आइभोरी कोस्टको सामना गर्ने तय भएको छ।