
नेपाल प्रवेश गर्ने भारतीय नम्बर प्लेटका सवारीसाधनका चालकसँग अवैध रूपमा रकम असुलेको आरोपमा मोरङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विराटनगर–१३ का ६३ वर्षीय सुरेश कर्ण, विराटनगर–१ का ४४ वर्षीय सञ्जय केवट र विराटनगर–१५ का ६७ वर्षीय नरेन्द्र थापा रहेका छन्।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाका आधारमा विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाट नजिकको यात्रु सहायता शाखाबाट आइतबार नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनीहरूले भारतीय सवारीका चालकहरूलाई दबाब र प्रभावमा पारी अवैध रूपमा रकम असुल गरी आर्थिक लाभ लिएको आरोप छ।
घटनाबारे इलाका प्रहरी कार्यालय रानीमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।