
पालमा बसोबास गरिरहेका भारतीय नागरिकहरूका लागि सिंगापुरको भिसा आवेदन प्रक्रिया अब काठमाडौँबाटै सहज रूपमा हुने भएको छ।
काठमाडौँको हात्तीसारमा मुख्य कार्यालय रहेको 'रुपसे होलिडेज'ले भारतीय नागरिकहरूको सिंगापुर भिसा आवेदनका लागि आधिकारिक एजेन्टको अनुमति प्राप्त गरेसँगै यो सुविधा उपलब्ध भएको हो।
दिल्लीस्थित सिंगापुर उच्चायोगले रुपसे होलिडेजलाई आगामी दुई वर्षका लागि आधिकारिक भिसा एजेन्टका रूपमा मान्यता प्रदान गरेको हो। सोमबार दिल्लीमा आयोजित एक कार्यक्रमका बीच सिंगापुर उच्चायोग र रुपसे होलिडेजबीच यससम्बन्धी औपचारिक सम्झौता भएको छ। उक्त सम्झौता पत्रमा रुपसेको तर्फबाट महाप्रबन्धक सरोज कार्कीले हस्ताक्षर गरेका छन्।
यसअघि नेपालमा रहेका भारतीय नागरिकहरूले सिंगापुरको भिसाका लागि आवेदन दिन दिल्लीस्थित सिंगापुर उच्चायोगमै पुग्नुपर्ने बाध्यता थियो। अब भने काठमाडौँ उपत्यका लगायत नेपालका कुनै पनि स्थानमा रहेका भारतीय नागरिकले रुपसे होलिडेजमार्फत सहजै आवेदन दिन सक्नेछन्।
जिम्मेवारी प्राप्त गरेपछि रुपसे होलिडेजका प्रबन्ध निर्देशक रमेश पराजुलीले सिंगापुर उच्चायोगप्रति आभार व्यक्त गर्दै खुसी व्यक्त गरे।
उनले भने, 'सिंगापुर उच्चायोगबाट प्राप्त यो आधिकारिक जिम्मेवारीप्रति हामी गौरवान्वित छौँ। अब नेपालमा रहेका भारतीय नागरिकले दिल्ली जानुपर्ने सास्ती भोग्नु पर्दैन। हाम्रो अनुभवी टोलीले छिटो र पारदर्शी भिसा सेवा उपलब्ध गराउनेछ।'
आउटबाउन्ड टुर सञ्चालनमा नेपालको परिचित एजेन्सी रुपसे होलिडेज विशेषगरी भियतनाम, थाइल्याण्ड, बाली र युरोप भ्रमण प्याकेजका लागि चर्चित छ। अब यस कम्पनीले भारतीय नागरिकका लागि व्यावसायिक भिसा सेवा समेत प्रदान गर्नेछ।
सिंगापुर भिसा आवेदन सम्बन्धी थप जानकारीका लागि इच्छुक भारतीय नागरिकले काठमाडौँको हात्तीसारस्थित रुपसेको कार्यालयमा प्रत्यक्ष सम्पर्क गर्न वा कम्पनीको आधिकारिक वेबसाइट हेर्न सक्ने कम्पनीले जनाएको छ।