
प्रशासनिक संघीयतालाई थप सुदृढ बनाउने उद्देश्यका साथ कोशी प्रदेश सरकार मातहतका कर्मचारीहरूको व्यक्तिगत विवरण प्रणाली (पीआईएस) लाई स्तरोन्नति गरी कार्यान्वयनमा ल्याइएको छ ।
राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलले स्तरोन्नति गरिएको ‘पीआईएस’ पोर्टलको पहुँच कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रदेश सचिव रामकृष्ण अधिकारीलाई आज विराटनगरमा आयोजित एक समारोहका बीच हस्तान्तरण गरेका हुन् ।
यो नयाँ प्रणालीको हस्तान्तरण तथा कार्यान्वयनबाट कोशी प्रदेश मातहत कार्यरत झण्डै २ हजार ५०० स्थायी कर्मचारीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास लिइएको छ ।
नेपाल सरकारको २०८२ भदौ ९ गतेको निर्णय कार्यान्वयन भएसँगै सबै प्रदेश सरकारहरूले प्रदेश निजामती सेवा तथा स्थानीय सेवामा कार्यरत स्थायी कर्मचारीहरूको ‘कर्मचारी सूचना व्यवस्थापन’ आफैं अद्यावधिक गर्न सक्ने गरी राष्ट्रिय किताबखानाले प्रयोग गरिरहेको कर्मचारी सूचना प्रणालीको पहुँच प्राप्त गरी कार्यान्वयन गरिरहेका छन् ।
महानिर्देशक पोखरेलका अनुसार यस व्यवस्था अन्तर्गत प्रदेश सरकारहरूले आफ्ना मातहतका कर्मचारीहरूको सिटरोल दर्ता, नियुक्ति, पदस्थापन, सरुवा, बढुवा तथा स्तरवृद्धि लगायतका सम्पूर्ण सूचनाहरू स्वयं व्यवस्थापन गर्न सक्नेछन् । यसलाई प्रशासनिक संघीयता कार्यान्वयनको एउटा महत्त्वपूर्ण कदम मानिएको छ ।
कर्मचारी सूचनाको एकीकृत व्यवस्थापन गर्ने उद्देश्यले हस्तान्तरित यस प्रणालीको प्राविधिक सहयोग, मर्मतसम्भार र अनुकूलनको जिम्मेवारी राष्ट्रिय किताबखानाले नै व्यवस्थापन गर्दै आइरहेको पृष्ठभूमिमा प्रणालीलाई थप सुविधायुक्त बनाउन केही नयाँ सुविधाहरू थप गरिएको महानिर्देशक श्रवणकुमार पोखरेलले बताए ।
यसअघि प्रदेश सरकारहरूले आफू मातहतका कर्मचारीहरूले बुझाउने सम्पत्ति विवरण म्यानुअल (हस्तलिखित) रूपमा व्यवस्थापन गर्दै आएकोमा अब यस मोड्युलको प्रयोग गरी छिटो, छरितो र व्यवस्थित ढंगले दर्ता तथा व्यवस्थापन गर्न सक्ने उनले बताए ।
त्यसैगरी, सिटरोल लगायत कर्मचारी सूचना सम्बन्धी कागजातहरूलाई व्यवस्थित रूपमा खोज्न र सुरक्षित राख्न यो मोड्युल उपयोगी हुनेछ, जसले अभिलेख व्यवस्थापनमा सुधार ल्याउनेछ ।
यसअघि सरोकारवाला कर्मचारीहरूले आफ्नो मोबाइलमा यस्तो विवरण प्राप्त गर्ने सुविधा थिएन । अब उपरान्त कर्मचारीहरूले आफ्नो सिटरोल दर्ता भएको, संकेत नम्बर जारी भएको वा सम्पत्ति विवरण दर्ता भएको जानकारी तुरुन्तै आफ्नो मोबाइलमा सन्देश (एसएमएस) मार्फत प्राप्त गर्ने पोखरेलले बताए ।