२१ असार २०८३, आइतबार
पारिवारिक बेमेलले निम्त्याएको दु:खान्त

ईश्वरी भुजेल हत्या प्रकरणको नालिबेली: ‘नेपाली ब्रो’को साविती बयानले खोल्यो कहालिलाग्दो रहस्य !

असार १८, २०८३
काठमाडौं

टिकटकमा ‘नेपाली ब्रो’ नामले परिचित कुमार थापामगरले आफ्नी श्रीमती ईश्वरी भुजेलको हत्या गरेको स्वीकारेसँगै जिल्ला अदालत काठमाडौंले उनी र उनकी प्रेमिका भनिएकी प्रतिक्षा आचार्यलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ । अदालतको आदेशसँगै उनीहरू बिहीबार नै कारागार चलान भएका छन् ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले चार जनालाई प्रतिवादी बनाएर बुधबार अदालतमा कर्तव्य ज्यान कसुरमा मुद्दा दर्ता गरेको थियो । 

बिहीबार थुनछेक बहसमा काठमाडौं जिल्ला अदालनका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले कुमार र प्रतिक्षालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । अन्य दुई प्रतिवादी क्रमश: कुमारका भाइ विक्रम र सुजन थापा क्षेत्रीसँग जनही एक लाख रूपैयाँ धरौटी माग गरिएको छ ।

पुर्पक्षमा जानुअघि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा कुमारले दिएको बयान सनसनीखेज मच्चाउने खालको छ । सार्वजनिक भएको अभियोगपत्रमा थापामगरले घटनाक्रम, लामो समयदेखिको वैवाहिक विवाद, अर्को महिलासँगको सम्बन्ध र हत्या भएको दिनको विवरण उल्लेख गरेका छन् । 

बयानअनुसार थापामगरले आफू लामो समयदेखि वैवाहिक सम्बन्धमा तनावमा रहेको र अर्की महिलासँग प्रेम सम्बन्ध शुरू भएपछि श्रीमतीसँगको सम्बन्ध झन् बिग्रिएको बताएका छन् । उनीविरुद्ध वैवाहिक बलात्कार र सम्बन्धविच्छेदसम्बन्धी मुद्दासमेत काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेको उल्लेख छ ।

बयानअनुसार २०८३ जेठ २२ गते वैवाहिक बलात्कार र सम्बन्धविच्छेदसम्बन्धी मुद्दाको पेसीका दिन उनी बिहानै श्रीमतीसँग सम्बन्ध सुधार्ने उद्देश्यले नारायणहिटीस्थित सैनिक ब्याण्ड गुल्म पुगेका थिए । तर, कारमा बटमवाला चक्कु रहेकाले आफू भित्र जान नसकेको उनले बताएका छन् । उनले सधैं कारमा चक्कु बोकेर हिँड्ने गरेको पनि बयानमा उल्लेख गरेका छन् ।

त्यसपछि उनी काठमाडौं जिल्ला अदालत पुगे । अदालतमा मिलापत्रका लागि पेसी तोकिए पनि ईश्वरी उपस्थित नभएको बयानमा उल्लेख छ ।

साँझ घर फर्किएपछि छोरा र घरमा काम गर्ने युवतीबाट अपमानजनक व्यवहार भएको महसुस गरेपछि आफू थप तनावमा परेको उनले बताएका छन् ।

थापामगरले बयान दिएअनुसार घरबाट बाहिरिएपछि ड्युटी सकेर फर्किरहेकी श्रीमती ईश्वरीलाई देखेपछि उनले कारबाट चक्कु निकालेर पछ्याए । ईश्वरी स्कुटर रोकेर पैदल हिँडिरहेका बेला सडक पेटीमा पुगेपछि घाँटीमा चक्कु प्रहार गरेको उनले स्वीकार गरेका छन् । बयानमा उनले शुरूआतमा ईश्वरीले प्रतिकार गरेको र त्यसपछि घाँटी रेटेर हत्या गरेको उल्लेख गरेका छन् ।

हत्यापछि प्रयोग गरिएको चक्कु सडक किनारामा फालेर कारमा बालाजुतर्फ गएको र चमती क्षेत्रमा प्रहरीले पक्राउ गरेको बयानमा उल्लेख छ । त्यसपछि प्रहरीले घटनास्थल नजिकबाट हत्यामा प्रयोग भएको चक्कु बरामद गरेको अभियोगपत्रमा उल्लेख गरिएको छ ।

बयानअनुसार कुमार थापामगर र ईश्वरी भुजेलको चिनजान नेपाली सेनामा कार्यरत रहँदा भएको थियो । दुवैबीचको सम्बन्ध पछि विवाहमा परिणत भएको थियो । कुमार जागिर छाडेर विदेश गए । 

पछि वैदेशिक रोजगारीबाट फर्किएपछि थापामगर सामाजिक सञ्जाल र रेस्लिङ गतिविधिमा सक्रिय भए । त्यसक्रममा अर्की महिलासँग प्रेम सम्बन्ध विकसित भएपछि दम्पतीबीच विवाद बढ्दै गएको अभियोगपत्रमा उल्लेख छ ।

श्रीमतीले प्रहरीमा उजुरी दिएपछि प्रहरीले दुवैलाई सम्झाइबुझाइ गरेको थियो । त्यसपछि पनि विवाद नरोकिएपछि २०८२ साउनमा वैवाहिक बलात्कारको उजुरी पर्‍यो । उक्त मुद्दामा उनी धरौटीमा छुटेका थिए । त्यसपछि सम्बन्धविच्छेदको मुद्दासमेत अदालत पुगेको थियो ।

भिडियो सामग्री :

 

कमेन्ट गर्नुहोस्