२० असार २०८३, शनिबार

साउन १ देखि भिसा सेवामा अनिवार्य अपोइन्टमेन्ट प्रणाली लागू हुने

असार १८, २०८३
काठमाडौं
साउन १ देखि भिसा सेवामा अनिवार्य अपोइन्टमेन्ट प्रणाली लागू हुने

अध्यागमन विभागले भिसाको म्याद थप र भिसा रूपान्तरण सेवालाई थप व्यवस्थित बनाउन आगामी साउन १ गतेदेखि डिजिटल अपोइन्टमेन्ट व्यवस्थापन प्रणाली अनिवार्य रूपमा लागू गर्ने भएको छ । 

प्रत्येक घण्टाका लागि आवेदनको कोटा निर्धारण गरिने भएकाले सेवाग्राहीले आफूले बुक गरेको समयमै विभागमा उपस्थित हुनुपर्नेछ ।

अध्यागमन विभागले भिसा सम्बन्धी सेवा प्रवाहलाई थप व्यवस्थित, सहज र प्रभावकारी बनाउन आगामी साउन १ गतेदेखि डिजिटल अपोइन्टमेन्ट व्यवस्थापन प्रणाली अनिवार्य रूपमा कार्यान्वयन गर्ने भएको छ ।

विभागले बिहीबार सूचना जारी गर्दै भिसाको म्याद थप (भिसा एक्सटेन्सन) र भिसा रूपान्तरण (भिसा कन्भर्सन) जस्ता सेवाका लागि सेवाग्राहीको भीड व्यवस्थापन गर्न उक्त प्रणाली लागू गर्न लागिएको जनाएको छ ।

विभागका अनुसार केही दिन अत्यधिक भीड र केही दिन न्यून सेवाग्राही उपस्थित हुने अवस्थाले सेवा प्रवाहमा असन्तुलन देखिएकाले डिजिटल अपोइन्टमेन्ट प्रणाली लागू गरिएको हो । यसबाट दैनिक सेवाग्राहीको संख्या समान रूपमा व्यवस्थापन हुने र कार्यालयको काम थप व्यवस्थित हुने अपेक्षा गरिएको छ ।

उक्त प्रणाली गत असार १२ गतेदेखि परीक्षणका रूपमा सञ्चालनमा छ । हाल नेपालीपोर्ट प्रणालीमार्फत भिसा आवेदनसँगै प्रतिघण्टा अपोइन्टमेन्ट स्लट उपलब्ध गराइएको छ । परीक्षण अवधिमा कुनै पनि स्लटमा कोटा निर्धारण नगरिएको र अपोइन्टमेन्ट स्लिप नभएका सेवाग्राहीलाई समेत सेवा प्रदान हुँदै आएको विभागले जनाएको छ ।

तर, नयाँ आर्थिक वर्षको शुरूआतसँगै साउन १ गतेदेखि भने प्रत्येक घण्टाका लागि निश्चित कोटा तोकी सोहीअनुसार मात्र सेवा प्रदान गरिनेछ ।

विभागले यसअघि नै पदयात्रा अनुमति (ट्रेकिङ परमिट) र इलेक्ट्रोनिक ट्राभल अथोराइजेशन (ईटीए) सेवालाई पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत सञ्चालन गरिसकेको जनाएको छ, जसबाट ती सेवाका लागि सेवाग्राहीको भौतिक उपस्थितिको आवश्यकता हटेको छ।

अध्यागमन विभागले नेपालमा रहेका सबै विदेशी राहदानीवाहक तथा अन्य सरोकारवालालाई उपलब्ध अपोइन्टमेन्ट स्लटअनुसार समय निर्धारण गरी सोही समयमा मात्र विभागमा उपस्थित भई सेवा लिन अनुरोध गरेको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्