०५ साउन २०८३, मंगलबार

भारतमा स्वदेशी स्याटेलाइट प्रयोग गरी पहिलो पटक कमर्सियल जेटको सफल ल्यान्डिङ

असार २२, २०८३
काठमाडौं
भारतमा स्वदेशी स्याटेलाइट प्रयोग गरी पहिलो पटक कमर्सियल जेटको सफल ल्यान्डिङ

भारतीय उड्डयन क्षेत्रमा एउटा ठुलो र ऐतिहासिक फड्को मारिएको छ । इन्डिगो एयरलाइन्सको एउटा एयरबस ए३२० विमानले भारतमै विकसित स्वदेशी नेभिगेसन प्रणाली 'गगन'को प्रयोग गरी देशकै पहिलो स्याटेलाइट-निर्देशित अवतरण सफलतापूर्वक सम्पन्न गरेको गल्फन्युजले जनाएको छ । 

नागरिक उड्डयन महानिर्देशनालयको प्रत्यक्ष निगरानीमा जुन २७ मा गरिएको यो सफल परीक्षणले महँगो भूमिगत नेभिगेसन पूर्वाधार नभएका साना विमानस्थलहरूमा पनि अत्याधुनिक र सटिक अवतरणको बाटो खोलेको समाचारमा उल्लेख छ । 

यसअघि इन्डिगोकै एटीआर टर्बोप्रपजस्ता साना विमानहरूमा यो प्रविधिको परीक्षण गरिएको भए पनि कमर्सियल जेटमा यो सफलतापूर्वक प्रयोग गरिएको यो नै पहिलो पटक हो।

विमानमा सवार यात्रुहरूका लागि यो अवतरण अन्य सामान्य अवतरण जस्तै महसुस भए पनि यसको प्रविधि भने पूर्णतः फरक थियो । यो अवतरणका लागि रनवे नजिकै जडान गरिने परम्परागत इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टमको रेडियो सिग्नलमा भर पर्नुको साटो विमानलाई अन्तरिक्षमा रहेका स्याटेलाइटबाट प्राप्त र परिमार्जित गरिएका नेभिगेसन सिग्नलहरूद्वारा गाइड गरिएको थियो । यसलाई प्राविधिक भाषामा स्याटेलाइट-बेस्ड ल्यान्डिङ सिस्टम वा 'लोकलाइजर पर्फर्मेन्स विथ भर्टिकल गाइडन्स' भनिन्छ। यसले पाइलटहरूलाई रनवेसम्म पुग्न जमिनमा कुनै विशेष उपकरण विना नै अत्यन्त सटिक तेर्सो दिशा निर्देश गर्दछ।

यो प्रविधिको विकासले उड्डयन सुरक्षा र उडान सञ्चालन दक्षतामा ठुलो सुधार ल्याउने अपेक्षा गरिएको छ। विशेष गरी साना विमानस्थलहरू, जहाँ उच्च जडान र मर्मत खर्चका कारण परम्परागत आइएलएस उपकरणहरू राख्न सम्भव हुँदैन, त्यहाँ यो स्याटेलाइट प्रविधि वरदान साबित हुनेछ । साथै, ठुला विमानस्थलहरूमा पनि प्राविधिक गडबडी वा मर्मतका कारण आइएलएस प्रणालीले काम नगरेको अवस्थामा यो स्याटेलाइट प्रणालीले बलियो ब्याकअपको रूपमा काम गर्नेछ।

कमेन्ट गर्नुहोस्