
फिफा विश्वकप २०२६ अन्तर्गत क्वार्टरफाइनलमा फ्रान्स र मोरक्कोबीचको खेल पहिलो हाफसम्म ०–० को बराबरीमा सकिएको छ।
अमेरिकाको बोस्टन स्टेडियममा जारी खेलमा फ्रान्सले सुरुदेखि नै दबाब बनाए पनि गोल गर्न सकेन। पहिलो हाफको सबैभन्दा महत्वपूर्ण अवसर फ्रान्सले पेनाल्टीमार्फत पाएको थियो। तर स्टार फरवार्ड किलियन एमबाप्पेको प्रहार मोरक्कोका गोलकिपर यासिन बोनोले उत्कृष्ट रूपमा बचाए।
पहिलो हाफभर फ्रान्सले खेल नियन्त्रणमा राख्दै बढी अवसर सिर्जना गरेको थियो। खेलको अपेक्षित गोल फ्रान्सको १.८७ पुगेको थियो । जुन यस विश्वकपमा पहिलो हाफमा गोल गर्न नसकेको टोलीमध्ये सबैभन्दा उच्च हो। त्यसको विपरीत मोरक्कोको अपेक्षित गोल मात्र ०.०५ रह्यो।
इन्जुरी समयमा फ्रान्सका लुकास डिन्येको शक्तिशाली प्रहार क्रसबारमा लागेर फर्किएको थियो। यता मोरक्कोले पहिलो हाफको अन्त्यतिर फ्रिकिकको अवसर पाए पनि अच्राफ हाकिमीको कमजोर प्रहार लक्ष्यमा परिणत हुन सकेन।
फ्रान्स लगातार तेस्रो विश्वकपको सेमिफाइनल पुग्ने लक्ष्यमा छ भने मोरक्को पहिलो पटक विश्वकपको अन्तिम चारमा स्थान बनाउने प्रयासमा रहेको छ।