
खोटाङमा लेनदेन विवादमा खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
दिप्रुङ चुईचुम्मा गाउँपालिका-१ का ३५ वर्षीय ध्रुव अधिकारीलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा सोही स्थानका ५३ वर्षीय तिलकबहादुर मग्रातीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार लेनदेनको विषयमा कुरा गर्न असार २५ गते दिउँसो आफ्नो घर आएका ध्रुवलाई आपसी वादविवादको क्रममा मग्रातीले टाउकोमा खुकुरी प्रहार गर्दा अधिकारीको घटना स्थलमा नै मृत्यु भएको थियो ।
घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल घटना स्थलमा पुगेको प्रहरी टोलीले मग्रातीलाई घटनामा प्रयोग भएको खुकुरीसहित पक्राउ गरेको थियो ।
हत्या आरोपमा पक्राउ परेका मग्रातीको जिल्ला प्रहरी कार्यालय खोटाङबाट थप अनुसन्धान तथा आवश्यक कानूनी कारबाही भइरहेको प्रहरीले जनाएको छ ।