२९ असार २०८३, सोमबार
'अन सल्भ्ड केस'को खोजी

सीआईबीले ७७ वटै जिल्लाबाट माग्यो गम्भीर प्रकृतिका र नसुल्झिएका ‘केस’

असार २८, २०८३
काठमाडौं
सीआईबीले ७७ वटै जिल्लाबाट माग्यो गम्भीर प्रकृतिका र नसुल्झिएका ‘केस’

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ७७ वटै जिल्ला प्रहरी कार्यालयले सुल्झाउन नसकेका गम्भीर प्रकृतिका अपराध अनुसन्धानको मिसिल मागेको छ ।

काठमाडौं उपत्यकाको हकमा काठमाडौं उपत्यका प्रहरी कार्यालय र उपत्यकाबाहिरको हकमा ७ वटै प्रदेश प्रहरी कार्यालयलाई परिपत्र गर्दै मिसिल मागिएको हो ।

त्यसो त ठूला घटना सुल्झन नसकेपछि सम्बन्धित प्रदेश प्रहरी कार्यालयले सीआईबी आवश्यक ठानेको अवस्थामा केन्द्रबाटै सीआईबीको टोली परिचालित हुँदै आएको छ । कतिपय घटनाहरूको अनुसन्धान सफल पनि भएका छन् ।

सीआईबीको नेतृत्वमा एआईजी उमाप्रसाद चतुर्वेदी पुगेपछि उनले उक्त परिपत्र गरेका हुन् ।

चर्चित र केही रहस्यकै गर्भमा रहेका घटनाहरू अहिले पनि अनुसन्धानमै छन् ।

खासगरी कञ्चनपुर भीमदत्तकी निर्मला पन्तको बलात्कारपछि हत्या कसले गर्‍यो भन्ने तथ्य अहिलेसम्म पत्ता लागेको छैन ।

प्रहरी प्रधान कार्यालयले एसएसपी कृष्ण पंगेनीको नेतृत्वमा एउटा टोली परिचालन गरेको छ ।

उक्त घटनाको अनुसन्धानका लागि सीआईबी पनि परिचालित भएकै थियो विगतमा । अहिले पनि सीआईबीले पंगेनीको टोलीलाई सहयोग गरिरहेको छ ।

तत्कालीन अवस्थामा प्रहरीले दिलिपसिंह विष्टले नै पन्तको बलात्कारपछि हत्या गरेको निष्कर्ष निकालेको थिए ।

तर, विष्टले इन्कारी बयान दिएकै कारण उनी थप अनुसन्धानको राडारमा आउन सकेनन् ।

चर्चित र अर्को डरलाग्दो घटना २०७७ मा कोरोना महाममारीका बेला भक्तपुरको हनुमन्ते खोला किनारमा टाउको नभएको शव फेला परेकोे थियो ।

गठ्ठाघर र बालकोटको सिमामा पर्ने खोला किनारमा टाउकोविनाको र त्यसमाथि पनि हात–खुट्टाका पञ्जा काटिएको शव फेलापरेको हो ।

नियोजित रूपमै गरिएको भनिएको त्यो हत्याको रहस्य अहिलेसम्म सुल्झिन सकेको छैन । कसले हत्या गर्‍यो वा गर्न लगायो अनुसन्धान जारी छ ।

फरेन्सिक विज्ञहरूले त्यो शव १७ देखि १९ वर्षकी युवतीको हुन सक्ने संकेत दिएका थिए ।

त्यस्तै, १० देखि १५ दिनअघि हत्या भएको हुन सक्ने शंका गरिएको थियो । तर, टाउको नभेटिएपछि शवको सनाखतै हुन सकेन ।

राष्ट्रिय रूपमै चर्चामा आएको र बहालवाला मन्त्रीले समेत राजीनामा दिनुपरेको वीरगञ्जको एउटा घटना अदालतमा पुगेर पनि दोषी भनिएकाले सफाइ पाए ।

त्यो घटना हो । २०६७ असार १२ गते साँझ पाँच बजेतिर वीरगञ्जको अशोक बाटिकास्थित शिवपार्वती मन्दिरमा रहेको धर्मशाला हेर्न पुगेका काशी तिवारीको गोली हानी हत्या ।

मन्दिरका पुजारीसँग कुराकानी गरिरहेका बेला तिवारीमाथि गोली प्रहार भएको थियो । तिवारी आवद्ध हिन्दु युवा संघले हत्यामा माओवादीका तत्कालीन नेता हाल आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साह र उनका सहयोगी सियाराम कुशवाहाको संलग्नता रहेको दाबी गरेको थियो ।

बाराको निजगढबाट पक्राउ परेका रोहित भनिने अमन कुशवाहाले तिवारीको हत्यामा सियारामको संलग्नता रहेको पोल खोलिदिए ।

त्यतिबेला सियाराम तत्कालीन भूमिसुधार तथा व्यवस्थामन्त्री प्रभु साहका स्वकीय सचिव थिए ।

रौतहट जमनुयाका सियारामले आफूलाई दुई लाख रुपैयाँको प्रस्ताव गरेपछि गएको अमनको भनाइ थियो ।

तिवारी हत्याको १५ महिनापछि पर्सा प्रहरीले तत्कालीन भूमिसुधार तथा व्यवस्थामन्त्री साह, उनका स्वकीय सचिव सियाराम र अमन कुशवाहाविरुद्ध प्रतिवेदन तयार गरेको थियो । पर्सा प्रहरीको त्यो प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयले फिर्ता गर्‍यो । राजनीतिक आडमा साहको नाम हटाइयो । सियाराम र अमनविरुद्ध अदालतमा मुद्दा चलायो ।

पर्सा जिल्ला अदालतले सियारामलाई सफाइ दियो । अमनलाई भने १० वर्षको कैद सजाय तोकियो ।

सफाइ दिने जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिल कार्यालयले उच्च अदालतमा पुनरावेदन गर्‍यो ।

२०७४ फागुन २८ गतमा जनकपुर उच्च अदालतको अस्थायी इजलास वीरगन्जले तिवारी हत्या अभियोगमा सियारामलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनायो ।

सीआईबीले नै सियारामलाई २०७५ वैशाख २७ मा काठमाडौंबाट पक्राउ गरेको थियो । पछि सियाराम सर्वोच्च अदालत गए । सर्वोच्च अदालतले २०७५ पुस १३ मा सियारामलाई सफाइ दियो । अमन पनि अहिले जेलबाट रिहा भइसके । काशी तिवारीको परिवारले न्याय पाएनन् ।

गम्भीर प्रकृतिका पत्ता नलागेका घटनामध्ये निर्मला, काशी र टाउको विनाको शव केही उदाहरण मात्रै हुन् । यस्तो थुप्रै घटनाहरू अहिले पनि रहस्यकै गर्भमा छन् । सीआईबीले मिसिल माग गर्नुले फेरि यी लगायत घटनाको अनुसन्धान अघि बढाउन सक्ने संकेत देखिन्छ ।

सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले काठमाडौं उपत्यकासँगै ७७ वटै जिल्ला प्रहरी कार्यालयले सुल्झाउन नसकेका गम्भीर प्रकृतिका अपराधको मिसिल माग गरेको पुष्टि गरे ।

उनले लोकान्तरसँग भने, ‘रेगुलर पुलिसिङ गर्दा जिल्लाले अनुसन्धान गर्न नसकेका गम्भीर प्रकृतिका र समय लाग्ने घटनाको मिसिल सीआईबीले मागेको हो । मिसिल प्राप्त भएपछि टोली अनुसन्धानमा खटिन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्