३० असार २०८३, मंगलबार

संसदीय समितिमा पत्रकारको सहज पहुँच सुनिश्चित गर्ने रास्वपाको प्रतिबद्धता

असार २९, २०८३
काठमाडौं
संसदीय समितिमा पत्रकारको सहज पहुँच सुनिश्चित गर्ने रास्वपाको प्रतिबद्धता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले संघीय संसद् तथा संसदीय समितिहरूमा पत्रकारहरूको सहज पहुँच र समाचार सङ्कलनको वातावरण सुनिश्चित गर्ने विषयमा संसद् रिपोर्टिङ गर्ने पत्रकारहरूसँग छलफल गरेको छ।

रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीको नेतृत्वमा आयोजित छलफलमा संसदीय समितिका सभापतिहरू तथा संसद् रिपोर्टिङमा सक्रिय पत्रकारहरू सहभागी भएका थिए।

छलफलमा संसद् र संसदीय समितिहरूमा पत्रकारलाई सहज आवागमन, बैठकको रिपोर्टिङ तथा सूचना सङ्कलनमा देखिएका समस्या र समाधानका उपायबारे खुला रूपमा विचार विमर्श भएको थियो।

छलफलका क्रममा पत्रकारहरूले पछिल्ला दिनमा केही संसदीय समितिहरूमा पत्रकारको प्रवेश तथा रिपोर्टिङमा अनावश्यक अवरोध सिर्जना भएको गुनासो गर्दै लोकतान्त्रिक अभ्यासमा पारदर्शिता र जनउत्तरदायित्वका लागि सञ्चारमाध्यमको सहज पहुँच आवश्यक रहेको धारणा राखेका थिए। उनीहरूले संसदीय समितिका बैठक तथा गतिविधि रिपोर्टिङ गर्न सहज वातावरण निर्माण गरिदिन सभापतिहरूसँग आग्रह गरेका थिए।

छलफलमा बोल्दै रास्वपा संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटी, सचेतक प्रकाशचन्द्र परियार तथा विभिन्न समितिका सभापतिहरूले पत्रकारलाई समाचार सङ्कलनमा कुनै अनावश्यक अवरोध नहोस् भन्नेमा आफूहरू संवेदनशील रहेको बताए।

सकेसम्म कुनै पनि समितिको बैठकमा पत्रकारलाई रोक्नुपर्ने अवस्था नआओस् भन्ने उद्देश्यका साथ आवश्यक समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता उनीहरूले व्यक्त गरेका थिए।

रास्वपाका नेताहरूले प्रतिपक्षमा रहँदा संसदीय समितिमा पत्रकारमाथि लगाइने प्रतिबन्धप्रति आफूहरूले पटक–पटक आवाज उठाएको स्मरण गराउँदै संसदीय गतिविधिलाई अझ पारदर्शी, खुला र जनउत्तरदायी बनाउन सञ्चारमाध्यमको भूमिका अपरिहार्य रहेको धारणा राखेका थिए।

छलफलमा रास्वपा संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक बुर्लाकोटी, सचेतक प्रकाशचन्द्र परियार, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल, उद्योग तथा वाणिज्य समितिका सभापति रहबर अन्सारी, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति सुम्निमा उदास, महिला तथा सामाजिक मामिला समितिका सभापति आकृति अवस्थी, संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठ, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति ओजस्वी शेरचन लगायतको उपस्थिति रहेको थियो।

मिडियाको तर्फबाट संघीय संसद् रिपोर्टिङ गर्ने पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

salt training

कमेन्ट गर्नुहोस्