३२ असार २०८३, बिहीबार

भारतले मंगलुरुमा नयाँ रणनीतिक तेल भण्डार निर्माण गर्ने

असार ३१, २०८३
काठमाडौं
भारतले मंगलुरुमा नयाँ रणनीतिक तेल भण्डार निर्माण गर्ने

भारतको सबैभन्दा ठुलो तेल अन्वेषण सरकारी कम्पनी ‘ओयल एण्ड नेचुरल ग्याँस कर्पोरेसन’ले दक्षिण भारतको मंगलुरुमा १.७५ मिलियन मेट्रिक टन (करिब १३ मिलियन ब्यारेल) क्षमताको नयाँ रणनीतिक पेट्रोलियम भण्डार निर्माण गर्ने भएको छ । 

विश्वकै तेस्रो ठुलो तेल आयातकर्ता र उपभोक्ता देश भारत इरान युद्धका क्रममा हर्मुज स्ट्रेटमा भएको नाकाबन्दीका कारण प्रभावित भएको थियो । विश्वको कुल ऊर्जा आपूर्तिको करिब पाँचौँ हिस्सा सोही जलमार्ग हुँदै ओसारपसार हुने गर्दछ । यस्तो भूराजनीतिक संकटका बेला आफ्नो आपतकालीन मौज्दातलाई सुदृढ गर्न भारतले अहिले अन्य देशहरूसँगको ऊर्जा सहकार्यलाई तीव्र रूपमा अघि बढाइरहेको समाचारमा उल्लेख छ । 

ओएनजीसीले राष्ट्रिय हितका लागि निर्माण गर्न लागिएको भण्डारण गृहको व्यावसायिक प्रयोगका लागि केन्द्रीय सरकारसँग अनुमति माग्ने बताएको छ । भारत सरकारले यसअघि नै दक्षिण भारतका तीन स्थानहरू मंगलुरु, पादुर र विजागमा निर्मित ५.३३ मिलियन मेट्रिक टन क्षमताको रणनीतिक भण्डारको केही हिस्सा व्यावसायिक रूपमा प्रयोग गर्न अनुमति दिइसकेको छ । यी भण्डारण सुविधाहरूको व्यवस्थापन सरकारी स्वामित्वको ‘इन्डियन स्ट्रेटेजिक पेट्रोलियम रिजर्भ्स लिमिटेड’ले गर्दै आएको छ ।

हालको नयाँ मंगलुरु परियोजनाको लागत र सम्पन्न हुने समयबारे ओएनजीसीले स्पष्ट खुलाएको छैन । भारतको हालको रणनीतिक पेट्रोलियम मौज्दात उसको कुल प्रशोधन क्षमता (प्रतिदिन ५.२ मिलियन ब्यारेल) को तुलनामा निकै सानो हिस्सा मात्र हो । ओएनजीसीको सहायक कम्पनी ‘मंगलुरु रिफाइनरी एण्ड पेट्रोकेमिकल्स लिमिटेड’ले मंगलुरुमा प्रतिदिन ३ लाख ब्यारेल क्षमताको रिफाइनरी सञ्चालन गर्दछ, जसले त्यहाँको १.५ मिलियन मेट्रिक टन क्षमताको मौजुदा रणनीतिक भण्डारको आधा हिस्सा भाडामा लिएको छ भने बाँकी आधा हिस्सा संयुक्त अरब इमिरेट्सको ‘अबुधाबी नेशनल आयल कम्पनी’लाई भाडामा दिइएको छ ।

यसै वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको युएई भ्रमणका क्रममा एड्नोकले भारतमा कच्चा तेल भण्डारण क्षमता बढाएर ३० मिलियन ब्यारेलसम्म पुर्‍याउने योजना घोषणा गरेको थियो । साथै, यूएईले भारतको रणनीतिक भण्डारको हिस्साका रूपमा आफ्नै फुजैराहमा पनि सम्भावित कच्चा तेल भण्डारणको खोजी गर्ने जनाएको छ । यसबाहेक, भारतले पूर्वी राज्य ओडिसाको चण्डिखोलमा करिब ४ मिलियन मेट्रिक टन र दक्षिण भारतको पादुरमा नयाँ २.५ मिलियन मेट्रिक टनको रणनीतिक भण्डार निर्माण गर्ने योजना बनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्