
नागरिकका समस्या, विकास निर्माण र गुनासा सुन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा ‘जनसंवाद यात्रा’ सुरु गरेको छ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दीपकराज बोहराले शुक्लाफाँटा नगरपालिका–१ बाट जनसंवाद यात्राको शुभारम्भ गरेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी शुक्लाफाँटा नगर समितिद्वारा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा रास्वपाका केन्द्रीय सदस्य बोहराले निर्वाचन क्षेत्रका जनताको आवाज सुन्न, जनतासँगै समाधान खोज्न र जिम्मेवार राजनीतिक संस्कृतिलाई थप मजबुत बनाउन जनसंवाद सुरु गरिएको बताए।
जनसंवादको पहिलो दिन बोहरासहित रास्वपाका नेताहरूले शुक्लाफाँटा नगरपालिका–१ बन्साह र वडा नं. १२ कालागौडी क्षेत्रका नागरिकसँग भेटघाट तथा संवाद गरेका थिए।
“हामी जवाफदेही छौँ। मत माग्न आउँदा जनताले जितेर फर्किँदैनन् कि भन्ने आशंका गरे,” उनले भने, “हामी अरू नेताजस्ता होइनौँ, हामी आउँछौँ। छ–छ महिनामा सार्वजनिक सुनुवाइ गर्ने पनि भनेका छौँ।”
जनताप्रति उत्तरदायी भएर काम गर्ने बताउँदै बोहराले नागरिकका गुनासा सुन्न हरेक वडासम्म पुग्ने बताए। “वडा तहका कामलाई प्राथमिकता दिएर जनताको समस्या समाधानका लागि सक्रिय रहन्छौँ,” उनले भने।
राष्ट्रिय स्वतन्त्र पार्टी शुक्लाफाँटा नगर समितिका सभापति हरिश धामीले जनसंवाद निरन्तर अघि बढ्ने बताए। उनका अनुसार जनसंवाद यात्रामार्फत स्थानीय समस्या र तिनको समाधानका विषयमा छलफल भइरहेको छ।
जनसंवाद यात्राको शुभारम्भ कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य विजय जैरु, सुदूरपश्चिम प्रदेशका प्रवक्ता तेज ठकुल्ला, जिल्ला सचिव राकेश चन्द, निर्वाचन क्षेत्र नं. २ का क्षेत्रीय सभापति गणेश खड्कालगायत नेता सहभागी थिए।