
जिल्ला प्रहरी कार्यालय झापाले आर्थिक वर्ष २०८२/८३ मा पाँच करोड रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गर्दै तस्करी तथा अवैध ओसारपसार नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको जनाएको छ।
प्रहरीले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणअनुसार गत आर्थिक वर्षमा जिल्लाका विभिन्न नाकाबाट भन्सार छली गरी ल्याइँदै गरेका पाँच करोड नौ लाख नौ हजार ३२१ रुपैयाँ बराबरका अवैध सामान बरामद गरिएको हो।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रन्जन अवाका अनुसार बरामद गरिएका सामानमध्ये सबैभन्दा बढी एक करोड ४९ लाख ६१ हजार ६५० रुपैयाँ बराबरका सवारीसाधनका पार्टपुर्जा रहेका छन्।
त्यसैगरी ६५ लाख १५ हजार ५७ रुपैयाँ बराबरका लत्ताकपडा, ५२ लाख २४ हजार ५०० रुपैयाँ बराबरका किराना सामान, ८९ लाख ८७ हजार ४० रुपैयाँ बराबरका बिडी, १२ लाख ६५ हजार ५०० रुपैयाँ बराबरका सुर्तीजन्य पदार्थ, २१ लाख ५७ हजार ९३० रुपैयाँ बराबरका विद्युतीय पार्ट्स, तीन लाख २४ हजार ८० रुपैयाँ बराबरका कस्मेटिक सामग्री तथा एक करोड १४ लाख ७३ हजार ५६४ रुपैयाँ बराबरका अन्य विभिन्न अवैध सामान बरामद गरी भन्सार कार्यालय बुझाइएको छ।
प्रहरीले अवैध सामान ओसारपसारमा संलग्न २९ वटा सवारीसाधन र सात जनालाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएको जनाएको छ।