०७ साउन २०८३, बिहीबार

सामाजिक सुरक्षा भत्तामा ३२ लाख हिनामिना आरोप, वडाध्यक्षसहित ३८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

साउन ४, २०८३
काठमाडौं
सामाजिक सुरक्षा भत्तामा ३२ लाख हिनामिना आरोप, वडाध्यक्षसहित ३८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको दुर्गा भगवती गाउँपालिका–३ मा सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरी ३२ लाख २४ हजार १ रूपैयाँ हिनामिना गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

आयोगले वडाध्यक्ष, वडा सचिव, तत्कालीन निमित्त कार्यकारी अधिकृतसहित ३८ जनाविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार दुर्गा भगवती गाउँपालिका–३ का वडाध्यक्ष धर्मेन्द्रकुमार झा, वडा सचिव उमेश चौधरी तथा गाउँपालिकाका तत्कालीन निमित्त कार्यकारी अधिकृत प्रमोदकुमार ठाकुरले अन्य प्रतिवादीसँग मिलेमतो गरी आर्थिक वर्ष २०७४/७५ देखि २०८१/८२ सम्म सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरेका हुन् ।

अनुसन्धानका क्रममा सामाजिक सुरक्षा भत्ता पाउन अयोग्य व्यक्तिलाई गैरकानूनी रूपमा लाभग्राही बनाई जेष्ठ नागरिक, एकल महिला तथा विधवा भत्तालगायत शीर्षकमा रकम वितरण गरिएको, आवश्यक कागजातबिनै लाभग्राही कायम गरिएको तथा बैंकिङ प्रणाली लागू भएपछि पनि झुट्टा विवरणका आधारमा सामाजिक सुरक्षा परिचयपत्र जारी गरी भत्ता वितरण गरिएको पुष्टि भएको आयोगले जनाएको छ।

त्यस्तै, बैंकिङ प्रणाली लागू हुनुअघि एउटै व्यक्तिबाट विभिन्न लाभग्राहीको नाममा औँठाछाप लगाई भत्ता वितरण गरिएको, उमेर नपुगेका व्यक्तिलाई जेष्ठ नागरिक भत्ता तथा श्रीमान् जीवित रहेका महिलालाई विधवा भत्ता उपलब्ध गराइएको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ ।

आयोगका अनुसार उक्त कार्यबाट ३२ लाख २४ हजार १ रूपैयाँ बराबरको सार्वजनिक सम्पत्ति हिनामिना भएको पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत मुद्दा दायर गरिएको हो ।

आयोगले वडाध्यक्ष धर्मेन्द्रकुमार झा र वडा सचिव उमेश चौधरीसँग ३२ लाख २४ हजार १ रूपैयाँ तथा तत्कालीन निमित्त कार्यकारी अधिकृत प्रमोदकुमार ठाकुरसँग २९ लाख ४४ हजार १ रूपैयाँ बिगो दाबी गरेको छ ।

यसका अतिरिक्त अनियमित रूपमा सामाजिक सुरक्षा भत्ता लिएको आरोपमा विभिन्न लाभग्राही तथा हकवालासमेत गरी अन्य ४२ जनाविरुद्ध पनि बिगोअनुसार सजाय मागदाबी गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्