१० साउन २०८३, आइतबार

२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन

साउन ८, २०८३
काठमाडौं
२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन

भारतका चर्चित सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिन लामो भोक हडताल (अनशन) तोडेका छन्। 'ककरोच जनता पार्टी' (सीजेपी)ले नीट परीक्षाको प्रश्नपत्र लिक भएको विरोधमा गरेको आन्दोलनलाई समर्थन गर्दै जुन २८ देखि अनशनमा बसेका वाङचुकले बिहीबार मध्यराति हरियाणाको गुरुग्रामस्थित मेदान्ता अस्पतालमा आफ्नो अनशन समाप्त गरेका हुन्।

केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंह आफैँ अस्पताल पुगेर आग्रह गरेपछि वाङचुकले अनशन तोड्न सहमति जनाएका हुन् । अनशन तोड्दा उनकी पत्नी गीताञ्जली तथा लेह-लद्दाखको एपेक्स बडीका वरिष्ठ नेताहरू पनि साथमा थिए।

अस्पतालको बेडबाटै सामाजिक सञ्जाल 'एक्स'मा सन्देश जारी गर्दै सोनम वाङचुकले विभिन्न राजनीतिक दलका ६५ भन्दा बढी सांसदहरूले आफूलाई भेटेर वा पत्रमार्फत अनशन तोड्न आग्रह गरेको बताएका छन् । देशमा हुन सक्ने सम्भावित हिंसालाई ध्यानमा राख्दै र विभिन्न सर्तहरूमा लामो छलफल भएपछि अनशन तोड्ने निर्णयमा पुगेको उनले स्पष्ट पारेका छन् । ती सर्तहरूबारे चाँडै नै छुट्टै भिडियोमार्फत जानकारी दिने बताउँदै उनले कतै पनि कुनै किसिमको हिंसा हुन नदिन र सतर्क रहन सबैलाई अपिल गरेका छन् ।

नीट पेपर लिक प्रकरणलाई लिएर युवाहरूको आक्रोश र विरोध प्रदर्शनबीच भारत सरकार फास्ट ट्र्याक मोडमा आएको छ । बिहीबार राति देशका नाममा भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले पेपर लिक रोक्न कडा कदम चालिएको जानकारी दिएका छन्।

उनका अनुसार विगत साढे दुई महिनामा दोषीहरूलाई पक्राउ गरी जेल हालिएको र २२ लाख विद्यार्थीहरूको परीक्षा पुनः गराएर नतिजासमेत सार्वजनिक गरिसकिएको छ।

प्रधानमन्त्री मोदीले फास्ट ट्र्याक कोर्ट गठन र कडा सजायको प्रावधानसहितको विधेयकको मस्यौदा तयार भइसकेको र शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकमा यसबारे छलफल गरी अन्तिम रूप दिइने बताए। आगामी सोमबारदेखि शुरू हुने संसद्को दोस्रो साताको बैठकमा यस विधेयकलाई छिटोभन्दा छिटो पारित गराउने सरकारको तयारी छ।

salt training

कमेन्ट गर्नुहोस्