०९ साउन २०८३, शनिबार

भिडियो भाइरल भएपछि रास्वपा सांसद बब्लु गुप्ताले मागे माफी

साउन ८, २०८३
काठमाडौं
भिडियो भाइरल भएपछि रास्वपा सांसद बब्लु गुप्ताले मागे माफी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पूर्वमन्त्री बब्लु गुप्ताले गुडिरहेको मोटरसाइकलमा उभिएर 'स्टन्ट' शैलीमा यात्रा गरेको भिडियो भाइरल भएपछि माफी मागेका छन्। सिरहा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य गुप्ताले ट्राफिक नियम उल्लंघन गरदै ज्यान यात्रा गरेको भन्दै सामाजिक सञ्जालमा तीव्र आलोचना भएपछि गल्ती स्वीकार गरेका हुन्।

सार्वजनिक भएको भिडियोमा सांसद गुप्ता गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर मोबाइल चलाइरहेको प्रस्ट देखिन्छ । यस क्रममा उनले हेल्मेटसमेत लगाएका थिएनन् । 

कानुन निर्माण गर्ने थलो संसद्‌मा प्रतिनिधित्व गर्ने र पूर्वमन्त्रीसमेत रहिसकेका जिम्मेवार व्यक्तिबाटै सडक नियमको गम्भीर उल्लङ्घन भएपछि आम नागरिकले सामाजिक सञ्जालमार्फत कडा आपत्ति जनाएका थिए। सार्वजनिक पदमा रहेका व्यक्तिले ट्राफिक नियमको पालना गरेर समाजमा सकारात्मक सन्देश दिनुपर्नेमा, उल्टै जोखिमपूर्ण र गैरजिम्मेवारपूर्ण हर्कत गर्दा सर्वसाधारणमा गलत सन्देश गएको भन्दै उनको चर्को आलोचना भएको थियो। 

भिडियो भाइरल भई चौतर्फी आलोचनाले उग्र रूप लिएपछि सांसद गुप्ताले अन्ततः गल्ती महसुस गर्दै माफी मागेका हुन् । बाल्यकाल बिताएको ठाउँमा पुग्दा पुरानो सम्झना ताजा भएको र खुसीको झोकमा मजाक गर्दै त्यस्तो भिडियो बनाएको उनको प्रस्टीकरण छ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले भनेका छन्, 'अहिले सामाजिक सञ्जालमा म मोटरसाइकलमा बसेको एउटा भिडियो भाइरल भइरहेको छ। बाल्यकालमा खेलेको ठाउँमा पुग्दा पुराना सम्झनाहरू ताजा भए। त्यही खुसी र रमाइलोको क्षणमा मजाक–मजाकमै मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाउँदा मैले ट्राफिक नियम उल्लङ्घन गरेको रहेछु भन्ने कुरा मैले आफैँ महसुस गरेको छु। अब यही जोश र ऊर्जा देश र जनताको हितमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। मबाट जानी वा नजानी कुनै गल्ती भएको भए क्षमा माग्दछु!'

salt training

कमेन्ट गर्नुहोस्