
टर्कीको उत्तरपूर्वी प्रान्त अर्दहानका गभर्नर मेहमेट फातिह चिचेक्लीलाई हालै राष्ट्रपति कार्यालयले पदमुक्त गरेपछि यसको कारणलाई लिएर विभिन्न अड्कलबाजी शुरू भएको छ। पदमुक्त गर्नुको कुनै औपचारिक कारण नखुलाइए पनि धेरैले उनी साइकल चलाउँदा लगाउने कसिलो कपडा (साइक्लिङ टाइट्स) का कारण बर्खास्त भएको अनुमान गरेको न्यूयोर्क टाइम्सले जनाएको छ ।
साइक्लिङका निकै सौखिन चिचेक्लीले यस्ता कसिँला कपडा लगाएर साइकल चलाएका तस्बिर र भिडियोहरू सामाजिक सञ्जालमा बारम्बार पोस्ट गर्ने गर्थे। विपक्षी दलका सांसद इनान अक्गुन अल्पले उनलाई 'टिकटक गभर्नर' को संज्ञा दिँदै 'चार जना अंगरक्षकसहित दिनभर कसिलो कपडा लगाएर साइकल कुदाउनु गभर्नरलाई नसुहाउने कार्य भएको' भन्दै संसद्मै कडा आलोचना गरेका थिए।
यस विवादबारे प्रतिक्रिया दिँदै चिचेक्लीले आफू एक खेलाडीसमेत भएको र बिहानको व्यायामका बेला मात्र त्यस्ता कपडा लगाउने गरेको, कार्यालय समयमा नलगाएको भन्दै आफ्नो बचाउ गरेका छन्।
उनको बर्खास्तीपछि समर्थनमा हजारौँ मानिसले हस्ताक्षर संकलन गरेका छन्। उनी अन्तिम पटक कार्यालयबाट बिदाइ हुँदा साइकल यात्रीहरूले उनको गाडीलाई सम्मानस्वरूप स्कर्टिङ गरेका थिए।
यद्यपि, विज्ञ र केही स्थानीय सञ्चारमाध्यमका अनुसार उनको बर्खास्तीको मुख्य कारण साइक्लिङ कपडा मात्र होइन। सन् २०२२ मा उनी कारामान प्रान्तको गभर्नर हुँदा भएको एउटा निर्माण सम्झौतासम्बन्धी अनुसन्धान र उनीविरुद्ध रहेका पुराना राजनीतिक गुनासोहरू नै बर्खास्तीको मुख्य कारण हुन सक्ने बताइएको छ।
कारण जेसुकै भए पनि, चिचेक्लीले आफूले भविष्यमा अझ बढी खेलकुदमा समय बिताउने प्रतिक्रिया दिएका छन्। उनको स्थानमा अब उमर हिल्मी यामलीलाई नयाँ गभर्नर नियुक्त गरिएको छ।