
कैलालीको घोडाघोडी नगरपालिका–१ लोहारपुरमा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।
आज दिउँसो करिब १ः०० बजे स्थानीय डोडा नदीमा नुहाउन गएका चार जना बालकमध्ये नदीमा डुबेका स्थानीय १२ वर्षीय टेकेन्द्र बोहराको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए ।
बोहराका साथीहरूले घटनाबारे जानकारी गराएपछि उनकी आमा पुष्पा बोहरासहित स्थानीयको सहयोगमा नदीबाट निकालिएका टेकेन्द्रलाई उपचारका लागि घोडाघोडी अस्पताल, सुखड लगिएको थियो ।
बोहराको उपचारकै क्रममा आज अपराह्न मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।