
काठमाडौं, १३ फागुन– काठमाडौंमा पछिल्लो समय ठगी, बैंकिङ कसुर लगायतका आर्थिक अपराधका घटनामा बढ्न थालेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो ४१ दिनमा आर्थिक अपराधसम्बन्धी १०५ उजुरी दर्ता भएका छन् ।
महानगरीय प्रहरी परिसरले आइतवार पत्रकार सम्मेलन गरी पछिल्ला तीन महिना (मंसिर, पुस र माघ)मा भएका अपराधिक घटना र प्राप्त उजुरीको विवरण सार्वजनिक गरेको छ । जसअनुसार बैंकिङ कसुर, ठगी लगायत आर्थिक गतिविधिसँग सम्बन्धित अपराधका घटनाहरु बढ्दो क्रममा रहेको देखिन्छ ।
तीन महिनामा बैंकिङ कसुरसँग सम्बन्धित ८३ वटा मुद्दा दर्ता भएका छन् । यस्तै ३३ वटा ठगीका मुद्दा दर्ता भएका छन् । सो अवधिमा ७८० वटा सार्वजनिक अपराधका मुद्दाहरु दर्ता भएका छन् भने विद्युतीय कारोबारसँग सम्बन्धित १६ वटा मुद्दा दर्ता भएका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेलले समग्र अपराधको तथ्याङ्क हेर्दा आर्थिक अपराध र विद्युतीय कारोबारसँग सम्बन्धित अपराधका मुद्दा बढेको बताए । ‘पहिलो प्रगाढ सम्बन्ध रहेका व्यक्तिले पनि एक–अर्कालाई धोका दिने, झुक्याउने, गलत काममा फसाउने जस्ता अपराध भएको देखिन्छ,’ एसएसपी पोखरेलले भने, ‘पछिल्ला ४१ दिनमा मात्रै बैंकिङ कसुरसँग सम्बन्धित १०५ वटा उजुरी दर्ता भएका छन् ।’
हाल महानगरीय प्रहरी परिसर काठमाडौंले २ हजार २ सय ९७ वटा उजुरीमा अनुसन्धान गरिरहेको छ । जसमा आर्थिक अपराधदेखि सामाजिक सञ्जालबाट महिलालाई पीडित बनाउनेसम्म अपराधिक घटनाहरु छन् ।
पछिल्लो समय हाउजिङ, अपार्टमेन्टका नाममा समेत ठगी गर्ने प्रवृत्ति बढेको एसएसपी पोखरेलले बताए ।
काठमाडौं परिसरले आइतवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्ला तीन महिनामा काठमााडौंमा लागु औषधसँग सम्बन्धित अपराधिक घटनाहरु सबैभन्दा बढी घटेका छन् । प्रहरीको तथ्याङ्कअनुसार लागुऔषधसँग सम्बन्धित घटनामा मंसिर २६, पुसमा १९ र माघमा २७ उजुरी दर्ता भएका छन् ।
लागुऔषध पछि जबरजस्ती करणीसँग सम्बन्धित घटनामा बढी उजुरी दर्ता भएका छन् । प्रहरीको तथ्याङ्कक हेर्दा जबरजस्ती करणीको घटनामा मात्रै मंसिर महिनामा ११ उजुरी दर्ता भएका छन् । पुसमा ९ उजुरी दर्ता हुँदा माघ महिनामा १९ वटा उजुरी दर्ता भएका एसएसपी पोखरेलले बताए ।
पछिल्लो तीन महिनामा कर्तव्य जान मुद्दाअन्तर्गत ८, ज्यान मार्ने उद्योगअन्तर्गत १४, मानव बेचबिखनअन्तर्गत ६, हातहातियारअन्तर्गत ५ वटा उजुरी दर्ता भएका छन् ।