टेकराज अवस्थी

वर्षौंदेखि हेरिरहेको छु यही चोकबाट
हरेक काल, हरेक क्षण, हरेक पल
व्यवस्था र समाज परिवर्तन गर्नेहरू पनि देखेको छु ।
व्यवस्था परिवर्तनका नाममा आफैं परिवर्तन भएका पनि देखेको छु ।
म जस्तै बन्न खोज्नेहरू पनि देखेको छु ।
म जस्तै बनेका पनि देखेको छु ।
रातदिन मेरै नाम जप्नेहरू पनि देखेको छु ।
दिनरात मेरै नाम भजाउनेहरू पनि देखेको छु ।
यति धेरै समयदेखि रहिरहने को हुँ त म
हजारौं आमाहरूको ममता जोगाउन
मैले मेरी आमाको ममता लत्याएको थिएँ ।
हजारांै बाहरूको सपना साकार पार्न
मैले मेरा बाको सपना बेवास्ता गरेको थिएँ ।
हजारौ नानीहरूको ओठमा मुस्कान ल्याउन
मैले मेरा नानीहरूको ओठको मुस्कान खोसिदिएको थिएँ ।
हो, म त्यही हुँ जसलाई देश र माटोलाई माया गरेको कसूरमा
बाँधेर आँखामा कालोपट्टी झुण्ड्याएर रुखमा ठोकिएको थियो गोली ।
तिनै आमाहरूले तिनै बाहरूले, तिनै नानीहरूले मेरो पनि नाम
चढाइदिएको थियो, शहीदको सूचीमा र ठड्याइदिएको थियो यही चोकमा शालिक ।
पहिलेपहिले यो सूचीमा राखिँदैनथियो जोसुकैको नाम
अहिले आएर
देश लुटदालुट्दै मारिएका पनि मेरै सूचीमा
अस्मिता लुटदालुट्दै मारिएका पनि मेरै सूचीमा
प्रकृति र प्रविधिले मारिएका पनि मेरै सूचीमा
संगठन र पार्टीको झण्डा बोक्दाबोक्दै मारिदिएका पनि मेरै सूचीमा
यो सूची बनाउनेहरूसँग मेरो यतिमात्रै बिन्ती छ
सक्छौ भने यी पछिल्ला नामहरू हटाइदेऊ मेरो सूचीबाट
सक्दैनौ भने मेरै नाम हटाइदेऊ यो सूचीबाट
यही माग राखेर मेरो छोरो आन्दोलन गरिरहेको छ
आन्दोलन गर्दागर्दै मारियो भने ऊ पनि
नचढाउनू उसलाई पनि यो सूचीमा
किनकि ऊ माटोका लागि होइन बाका लागि मारिएको हो ।