
काठमाडौं, १८ फागुन– ‘आर्मी कट कपाल’, बाटुलो अनुहार र कुनै गहिरो भाव लुकेजस्ता आँखा । यो कुनै हिरो या उपन्यासका पात्रको वर्णन हैन । हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को हिरासतमा रहेका यी व्यक्तिलाई चिन्ने नाम पनि एउटा मात्रै छैन ।
कसैले यीनलाई शुलभ केसी (पण्डित क्षेत्री) भनेर चिन्छन्, कोही उनलाई नरेन्द्रबहादुर पण्डित भएको दावी गर्छन् भने कोही उनी मनिस बस्नेत भएको बताउँछन् । रोचक कुरा त के छ भने प्रहरीले समेत उनी को हुन् भनेर बास्तविकता पत्ता लगाउन सकेको छैन । किनभने उनीसँग नागरिकता मात्रै तीनवटा छन् ।
उनले छुट्टा–छुट्टै ठेगानामा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकबाट २ वटा नागरिकता बनाएका छन्, शुलभ पण्डित क्षेत्री र नरेन्द्रबहादुर पण्डितको नाममा । कास्की जिल्ला प्रशासनबाट उनले तेस्रो नागरिकता लिएका छन्, मनिस बस्नेतको नाममा ।
प्रहरीले उनको ठेगाना सिन्धुपाल्चोकको साविक इचोक गाविस–६ (हाल हेलम्बु गाउँपालिका–७) भएको बताएको छ । तर उनीसँग तीन नागरिकता भएकाले थप अनुसन्धान गर्नु परेको छ ।
लेडी किलर नटरवलाल
२ वर्ष अगाडि काठमाडौंकी रेश्मा पोखरेल (नाम परिवर्तन)लाई फेसबूकमा मनिस बस्नेत नाम गरेका व्यक्तिको म्यासेज आयो । ‘म तपाईंको श्रीमानको कलेज पढ्दाको साथी हो । अहिले अमेरिकन आर्मीमा छु,’ फेसबुकको म्यासेजमा यस्तै लेखिएको थियो । श्रीमानको साथी भनेपछि रेश्माले पनि उनीसँग खुलेर कुरा गर्न थालिन् । फेसबुकबाटै मनिस नाम गरेका ती व्यक्तिले आफू केही दिनको छुट्टीमा अमेरिकाबाट नेपाल आउन लागेको बताए । नेपाल आउँदा भेट्न चाहेको भन्दै रेश्माको नम्बर पनि मागे ।
फेसबुकबाट नेपाल आउँछु भनेको ४ दिनपछि मनिसले नेपाली नम्बरबाट फोन गरेर रेश्माको डेरामा आउन लागेको बताए । रेश्मासँगको पहिलो भेटमै उनले मोबाइल उपहार दिए । हातमा बोकेको अर्को ब्यागबाट लड्डु झिकेर भने, ‘तपाईंको श्रीमान् अब अमेरिका जाने पक्का भएको छ । लड्डु खानुहोस् ।’
रेश्मा खुसीले गदगद् भइन्, श्रीमान अमेरिका जान पाउने कुरा सुन्दा । किनकी अमेरिका उनका लागि सपनाको संसार थियो भने उनका श्रीमान पनि खाडीमा पसिना बगाउनुभन्दा अमेरिका जान जस्तोसुकै मूल्य चुकाउन तयार थिए ।
मनिसले रेश्मासँग उनका श्रीमानलाई अमेरिका ल्याउन सक्ने भनेर फेसबुकमै कुरा गरेका थिए । रेश्माले उक्त कुरा संयुक्त अरब इमिरेट्समा मजदुरी गरिरहेका आफ्ना श्रीमानलाई बताएकी थिइन् । जसमा उनका श्रीमान पनि सहमत थिए । अमेरिकाबाट आएको भनिएको हप्तादिनसम्म मनिसले रेश्माको डेरामा आउने–जाने गरिरहे । हरेक दिन केही न केही लगेर उनी रेश्माको डेरा पुग्थे, कहिले मासु त कहिले फलफूल । रेश्माको डेरा जाँदा मनिसको हात ‘खाली’ हुँदैनथ्यो ।
भेटेको हप्तादिन पछि मनिसले रेश्माका श्रीमानलाई अमेरिका पठाउन भन्दै ४ लाख रुपैयाँ मागे । रेश्माले बिनाकुनै संकोच आफूसँग भएको ४ लाख रुपैयाँ मनिसलाई बुझाइन । त्यसको एक हप्ता पछि पनि मनिसले आफ्ना एक सहयोगीलाई पठाएर रेश्मासँग थप ४ लाख रुपैयाँ लिए ।
तर अमेरिका पठाउने कार्य आज हुन्छ, भोलि हुन्छ भन्दै टार्दै गए । पैसा लिएको एक महिनापछि त मनिस भन्ने व्यक्ति फेसबुकबाट गायव नै भए । फोनमा कुरा नभएको त धेरै नै भइसकेको थियो । आफूबाट ८ लाख लगेको व्यक्ति सम्पर्कविहीन भएपछि मात्रै रेश्माको चेत खुल्यो । त्यसपछि उनले आफू ठगिएको भन्दै प्रहरीमा उजुरी दिइन् ।
१०० भन्दा बढी व्यक्तिमाथि ठगी
शुलभ केसीबाट ठगिने रेश्मा एक्लो व्यक्ति हैनन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) प्रहरी उपरीक्षक (एसपी) जीवन श्रेष्ठका अनुसार शुलभ केसी, नरेन्द्रबहादुर पण्डित र मनिस बस्नेत नामबाट उनले १०० भन्दा बढी व्यक्तिलाई ठगिसेकका छन् ।
अहिले १४ जनाले आफूहरु गठिएको भन्दै उनीविरुद्ध सिआईबीमा उजुरी दिएका छन् । १४ जनाबाट मात्रै उनले १ करो ५० लाख रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
श्रीमतीलाई महंगो उपहार दिएर श्रीमानमाथि ठगी
उनले गरेका ठगीका घटनामध्ये अधिकांशमा उनले विवाहित महिलालाई प्रयोग गरेका छन् । त्यसमा पनि जसका श्रीमान् विदेश छन् वा कामको शिलसिलामा टाढा हुनु परेको छ ।
प्रहरीले गरेको अनुसन्धान अनुसार उनले अधिकांश महिलासँग फेसबुकबाट चिनजान बढाएर भेट्ने र पहिलो भेटमै महंगो उपचार दिने गरेका थिए । प्रहरीका अनुसार शुलभले महिलालाई आफ्नो प्रभावमा पारेर उनका श्रीमानमाथि ठगी गर्ने गर्थे ।
‘महिलासँग फेसबुकबाट चिनजान बढाउने, घरमा भेट्न जाने । अमेरिकाबाट आएको भन्दै पहिलो भैटमै महंगो उपहार दिने गरेर उनी विवाहित महिलालाई आफ्नो प्रभावमा पार्थे,’ सिआईबीका एसपी श्रेष्ठ भन्छन्, ‘महिलालाई आफ्नो प्रभावमा पारेर तिनका श्रीमानलाई अमेरिका पठाइदिन्छु भन्दै पैसा मागेर फरार हुने गर्थे ।’
२ श्रीमती, दजर्न बढी गर्लफ्रेण्ड
शुलभ केसी, नरेन्द्रबहादुर पण्डित र मनिस बस्नेत गरी ३ थरी नाम भएका ती व्यक्तिले २ वटा विवाह गरेका छन् । त्यो पनि एक ओटा त जिल्ला अदालत काठमाडौंबाट कोर्ट म्यारिज गरेको प्रहरीले जनाएको छ । उनले काठमाडौं जिल्ला अदालतबाट मनिस बस्नेतको नामबाट कोर्ट म्यारिज गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । उनको पहिलो विवाह भने पारिवारिक सहभागितामै भएको प्रहरी जनाउँछ ।
यतिमात्रै हैन, विवाह गर्ने आश्वासन बाँड्दै उनले १ दर्जनभन्दा महिलासँग सम्बन्ध राखेको प्रहरीले जनाएको छ । ‘हामीले पक्राउ गरेको सूचना पाएपछि उनले अवैध सम्बन्ध राखेका करिब १ दर्जन महिला हाम्रो सम्पर्कमा आएका छन्,’ सिआईबी स्रोतले लोकान्तरसँग भन्यो, ‘अन्य महिला पनि उनीबाट पीडित हुन सक्छन् भनेर हामीले अनुसन्धान गरिरहेका छौं ।’
प्रहरीका अनुसार उनले प्राय सबै महिलासँग पहिलो भेटमा महंगो खालको मोबाइल उपहार दिने गर्थे । प्रहरीले गरेको अनुसन्धानबाट उनले करिब २० महिलालाई मोबाइल उपहार दिएर आफ्नो प्रभावमा पारी ठगी गरेका छन् ।
५० हजारमा अमेरिका पठाइदिने भन्दै ठगी
तीनथरि नाम भएका ती व्यक्तिले अमेरिका पठाइदिन्छु भन्दै व्यक्तिको आर्थिक हैसिय हेरेर पैसा लिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ‘अमेरिका पठाइदिन्छु भन्दै एक व्यक्तिबाट ५० हजार रुपैयाँ लिएको पनि भेटियो,’ अनुसन्धानमा संलग्न सिआईबीका अधिकारीले लोकान्तरसँग भने, ‘उसले अमेरिका पठाइदिन्छु भन्दै व्यक्तिअनुसार ५० हजारदेखि १५ लाख रुपैयाँसम्म लिएको भेटिएको छ ।’
उनीमाथि काठमाडौं जिल्ला अदालतमा पनि ४ करोड ९५ लाख रुपैयाँ ठगी गरेको भन्दै मुद्दा दर्ता भएको छ । प्रहरीले अहिले उक्त मुद्दाको विषयमा पनि बुझेर उनीमाथि थप अनुसन्धान गरिरहेको छ ।