
धनगढी, १९ फागुन- होलीका क्रममा एक जनाको हत्या भएपछि त्यसको विरोधमा शनिबार टीकापुर बजार बन्द भएको छ । १७ गते राति टीकापुर खेलमैदानमा होली खेलिरहेका बेला सीतापुरका २२ वर्षीय कर्ण थापाको छुरा प्रहार गरी हत्या भएको थियो ।
सत्यतथ्य छानविन गरी हत्यारालाई पक्राउ गर्न दबाब दिन आज बिहानैदेखि टीकापुर बजार बन्द गरिएको हो । स्थानीयले ईलाका प्रहरी कार्यालयअगाडि धर्ना दिएका छन् ।

यसैबीच प्रहरीले १४ जनालाई नियन्त्रणमा लिएर घटनाबारे छानबिन भइरहेको छ । त्यस्तै घटनाको विभिन्न पक्षले भत्र्सना गरेका छन् । सांस्कृतिक समाज टीकापुरले प्रेस विज्ञप्ती जारी गर्दै घटनाको शीघ्र छानविन गरी अपराधीलाई कडा कारबाही गर्नुपर्ने र टीकापुरमा शान्ति सुरक्षा कायम गर्नुपर्ने माग गरेको छ ।
नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा नयाँ शक्ति पार्टीले संयुक्त विज्ञप्ती जारी गर्दै दोषिलाई कानूनी दायरामा ल्याउनु पर्ने, पक्राउ परेका व्यक्तिलाई राजनीतिक संरक्षण गर्न नहुने, छानविनमा सबैले प्रहरी प्रशासनलाई सहयोग गर्नुपर्ने, घटनालाई उत्तेजित पार्ने कार्यक्रम गर्न नहुने अपिल गरेका छन् ।