
काठमाडौं २९ फागुन – न्यूरो सम्बन्धी सेमिनारमा २४ गते बंगलादेश जानु भन्दा अघिल्लो दिन २३ फागुनमा थापा परिवारको घरमा पूजा थियो । परिवारका सदस्यहरुसँग त्यही विदा भएका डा. बालकृष्ण थापाको अन्तिम भेट त्यही भयो ।
‘न्यूरो कन्फरेन्सनका लागि २४ गते बंगलादेश जानु भन्दा अघिल्लो दिन हामीसँगै थियौं’ त्रिवि शिक्षण अस्पतालमा दाइको शव लिन आएका भाइ रामकृष्ण थापाले भने, ‘त्यही अन्तिम भेट भयो ।’ यति भन्दै गर्दा उनी भक्कानिए ।
वरिष्ठ न्यूरो सर्जन डा.थापाको युएस बंगला एयरको विमान दुर्घटनामा सोमवार निधन भएको थियो । डा. थापा ब्रेन ट्युमरको अप्रेसनमा दख्खल राख्थे ।
डा.थापाका छोराछोरी अष्ट्रेलियाबाट भोलि स्वदेश फर्किदै छन् । डा.थापा पत्नी सुमित्रा थापा अर्धचेत जस्तै छिन् ।
‘दाइलाई मन नपराउने मानिस कोही थिएनन्, अव हामीमाझ रहनु भएन’ भाइ रामकृष्णले भने ।
डा.थापाका जेठान कपिलदेव थापा पनि ज्वाँइको शव लिन शिक्षण अस्पताल आएका छन् । ‘दैवले पनि यस्तो गर्दो रहेछ भने, राम्रो मान्छेलाई टिपेर लग्यो’ कपिलदेवले भने ।
डा थापा परिवार काठमाडौंका पेप्सिकोलामा बस्दै आएको थियो । ‘कोही बिरामी भयो भने उहाँले दिन रात भन्नु हुन्नथ्यो’ कपिलदेवले भने, ‘परिवारका सदस्य मात्र होइन, जसलाई पनि सहयोग गर्ने ।’
डा.थापाले त्रिवि शिक्षण अस्पतालबाटै एमबीबीएस गरेका थिए । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यतर थापाले तीन पटक स्वर्ण पदक प्राप्त गरेका थिए ।