
धनगढी, ३ चैत- हवाई सेवा प्रदायक कम्पनी सौर्य एयरलाइन्सले आफैँले करारमा नियुक्त गरेको कर्मचारीहरूलाई करार अवधि नपुग्दै विभिन्न बहानामा निष्काशन गरेको तथ्य बााहिर आएको छ । यहाँसम्म कि बहाल अवधिमा रहेको पारिश्रमिक दिनु त परै जाओस् उल्टै बजार प्रतिनिधि पदमा कार्यरत कर्मचारीहरूलाई टिकट बाफतको रकम लिएको आरोप लगाउँदै निष्कासन गरेको पाइएको हो ।

धनगढी उपमहानगरपालिका– ५ जाइका सुनिल चौधरीलाई उक्त कम्पनीले कात्तिक २७ गतेदेखि लागु हुनेगरी मंसिर ६ गते लोडर तथा बजार प्रतिनिधिमा ६ महिनाको लागि करारमा नियुक्त गरेको थियो । तर उनलाई विभिन्न बहानामा कम्पनीका धनगढी शाखा प्रमुख नवदीप केसीले पुष १९ गतेदेखि हाजिर गर्न नदिए पनि कामचाहिँ फागुन महिनासम्म लगाएको चौधरीले गुनासो गरे । तर पारिश्रमिक भने कात्तिक महिनाको चार दिनको र मंसिर महिनाको मात्रै पाएको उनले जानकारी दिए ।
कम्पनीका शाखा प्रमुख केसीले शुरुमा आफूमाथि बच्चाका निशुल्क टिकटमा एउटा बच्चाको टिकट विक्रीस्वरूप चार हजार रुपैयाँ लिएको आरोप लगाएको चौधरीले बताए । ‘जबकि हामीलाई यात्रु टिकट काट्न कहिल्यै दिइएको थिएन । तर पनि आफँैले बच्चाको टिकट काटेर मेरो टाउकोमा थोपार्ने काम भयो’, उनले भने ‘पछि गएर युनिफर्म मागसम्बन्धी निवेदन भन्दै मलाई हेर्नै नदिई अर्कै पत्रमा हस्तक्षर गराइएको छ ।’
आफूलाई जानकारी नदिई निष्कासन गर्न लागेकोबारे जानकारी माग्दा जनशक्ति प्रयाप्त छन् भनेर आफूलाई काम गर्न नदिएको उनको गुनासो छ ।
शाखा प्रमुख केसीले केन्द्रीय कार्यालयको निर्देशन अनुसार कर्मचारी प्रयाप्त हुँदा उनलाई नराखेको स्वीकार गरे । तर हाजिर गर्दासम्मको पारिश्रमिक पाउने शाखा प्रमुख केसीको भनाइ छ । बच्चाको टिकटवापत आएको रकमबारे उनले ‘त्यो केही पनि भएको होइन’ भन्दै पन्छिन खोजे ।